शनिबार, अशोज २६, २०८१

सदस्यताको टुङ्गो लगाएरमात्र निर्वाचनमा जान प्रगतिशीलको माग

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता नामावली यथाशीघ्र सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासङ्घले प्रेसविज्ञप्ति जारी गरी आगामी असोज ५ गते निर्वाचनको मिति सार्वजनिक गरेपछि प्रगतिशीलको धारणा सार्वजनिक भएको हो ।

प्रगतिशील पत्रकार संघका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा आइतबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले आफूहरू यथाशीघ्र निर्वाचनको पक्षमा भएको स्पष्ट पारेको छ ।

वक्तव्यमा सुर्खेत साधारणसभाको शुद्धीकरण मापदण्डअनुसार पहिला सदस्यता नामावली सार्वजनिक गरेर मात्रै निर्वाचन सुनिश्चित हुन सक्ने बताइएको छ ।

  1. यस्तो छ प्रेसबिग्यप्तीको पुर्णपाठ :

“नेपाल पत्रकार महासङ्घले आजै प्रेसविज्ञप्ति जारी गरी आगामी २०८१ असोज ५ गते सबै तहको निर्वाचन घोषणा गरेकोप्रति हाम्रो सङ्गठन प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यान आकर्षण भएको छ ।

हाम्रो सङ्गठन पत्रकार महासङ्घको यथाशीघ्र निर्वाचन हुनुपर्ने मान्यता राख्दछ । त्यसैले छिटोभन्दा छिटो सबै तहको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन हुनुपर्ने आवश्यकतामा हामी जोड दिन चाहान्छौँ ।

यसपटकको निर्वाचनको मुख्य विवादको विषय सदस्यता शुद्धीकरणपछि हो भन्ने सर्वविदितै छ । पत्रकार महासङ्घ र विभिन्न पत्रकार सङ्गठनमाझ पटक पटक सम्पन्न भएका छलफलमा पहिला सुर्खेत साधारणसभाको सदस्यता शुद्धीकरण मापदण्डअनुसार सदस्यता नामावली सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने विषयमा सर्वसम्मती थियो तर अहिले महासङ्घले यो तरिका अपनाएको छैन ।

यस प्रकार सदस्यताको विषय टुङ्गो नलगाई गरिएको निर्वाचन मिति प्रचारबाजी मात्रै नहोस् भन्ने हाम्रो अपेक्षा छ । यस प्रकारको विशिष्ट परिस्थितिमा हाम्रो सङ्गठन यथाशीघ्र मतदाता नामावली सार्वजनिक गर्नुपर्ने माग राख्दछ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?