सोमवार, अशोज २१, २०८१

परिवार योजना सेवा सम्बन्धि नीजि स्वास्थ्य संस्थाबिच छलफल

प्यूठान । परिवार योजना सेवाको गुणस्तर तथा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको विषयमा समन्वयात्मक वैठक गरिएको छ । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकामा रहेका नीजि स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीतामा शनिवार प्यूठान नगरपालिका ४ जुम्रीमा कार्यक्रम गरिएको हो ।

परिवार योजना र किशोरकिशोरी प्रजनन् स्वास्थ्य सेवाको गुणस्तरलाई थप वृद्धि गर्ने उद्येश्य सहित कार्यक्रम आयोजना गरिएको युएसएआइडी एआरएच कार्यक्रम प्यूठानका नीजिक्षेत्र संलग्न अधिकृत माधव खनालले बताउनुभयो । सेवाको गुणस्तरीयता संगै सेवा अभिलेखिकरणका विषयमा समेत कार्यक्रममा छलफल भएको उहाँले जानकारि दिनुभयो ।

कार्यक्रममा नीजि स्वास्थ्य संस्थाहरुले प्रदान गर्दै आएका प्रजनन् स्वास्थ्य सम्वन्धी सेवा र अभ्यासका विषयमा सिकाइ आदान प्रदान तथा छलफल गरिएको थियो । सेवा गुणस्तरवृद्धिका लागि हरेक तीन तीन महिनामा समन्वयात्मक वैठक वसि सिकाई आदानप्रदानका साथै छलफल र कार्ययोजना निर्माणगरि काम गर्ने योजना रहेको अधिकृत खनालले बताउनुभयो ।

जिल्लाका विभिन्न ५ वटा स्थानीय तहमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थानीय साझेदार संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको समन्वयमा किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम कार्यान्वयन हुदै आएको छ । किशोर किशोरी तथा उनिहरुका अविभावक लक्षित प्रजनन् स्वास्थ्य सम्वन्धी कक्षा संचालन, स्वास्थ्यसेवाको गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु समेत संचालन गरिदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?