शुक्रबार, मंसिर २१, २०८१

देशले संंघीयताको भारी बोक्न सक्दैन ः के.सी.

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले संघीयता खारेज नभए संघीयताले देशनै खारेज गर्ने बताउनु भएको छ । राजनैतिक,सामाजिक तथा आर्थिक कुनैपनि पक्षले संघीयताको भारी बोक्नका लागि नेपाल सक्षम नरहेको बताउँदै उहाँले संघीयताको खारेजीको विकल्प नरहेको जिकीर गर्नुभयो ।

कोजाग्रत पूर्णिमाको अवसरमा विहिवार अर्घा रानीगैरा अर्घाखाँचीमा आयोजित विशालसभा तथा सांस्कृत कार्यक्रमलाई सम्वोधन गर्दै के.सी.ले सात प्रदेश चलाउने खर्चले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरु निशुल्कगर्दै जनतालाई सहुँलियत दिन सकिने बताउनुभयो । ‘प्रदेश संरचना धान्न वार्षिक ४ अर्ब रुपैयाँ खर्च हुने गरेको छ’,के.सीले भन्नुभयो त्यो रकमले शिक्षा,स्वास्थ्य जस्ता आधारभूत आवश्यकता निशुल्क गर्न सकिन्छ ।’

बर्तमान सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन नरहे पनि संविधान संशोधनको कुराप्रति समर्थन रहेको उहाँको भनाई थियो । ‘संविधान संशोधन मार्फत संघीयता खारेज गरे त्यसलाई हामी स्वागत गर्नेछौं’, के.सी.ले भन्नुभयो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले राष्ट्रिय जनमोर्चा नेपालको वैकल्पिक राजनितिक शक्ति भएको दाबी गर्नुभयो । जनताले विकल्प खोजिरहेको भन्दै संसदवादी दलहरूको विकल्पमा राष्ट्रिय जनमोर्चा वैकल्पिक शक्तिको रुपमा सशक्त हुँदै आएको उहाँको भनाई छ । सत्तारुढ पुराना दलकै लयसमात्ने रवि लामिछानेको पार्टी वैकल्पिक शक्ति हुन नसक्ने महासचिव भट्टको दाबी छ ।

गणतन्त्र आएको १८ वर्षमा १९ वटा सरकार परिवर्तन भएको स्मरण गराउँदै उहाँले कुनैपनि सरकारले महंगी, भ्रष्टाचार र बेरोजगारी अन्त्य गर्न पहल नगरेको आरोप लगाउनु भयो । जनता जनसवाल भन्दा सत्ता केन्द्रित स्वार्थको राजनीतिमा मात्रै केन्द्रित हुदा हालको व्यवस्थामाथी नै जनतामा निराशा छाएको उहाँको भनाई छ । गणतन्त्रको विकल्प राजतन्त्र नहुने र बहुदलीय व्यवस्थाको विकल्प निर्दलीय व्यवस्था पनि हुन नसक्ने स्पष्ट पार्दै उहाँले राजनैतिक वेइमानी र सत्ता स्वार्थ राजनीतिका विरुद्ध आवाज उठाउन आह्वान गर्नुभयो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जनवादी गीत र नृत्य सहितको बेजोड सांस्कृतिक प्रस्तुुती गर्नुका साथै राष्ट्रिय जनमोर्चा निकट विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधिलगाएतले सभालाई संबोधन गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन विशाल सभा तथा सास्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?