बुटवल । सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग आज पनि बयान लिनेकाम सुरु गरिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लिखित बयान लिन सुरु गरेको हो ।
पोखराबाट भैरहवा ल्याइएका लामिछाने संग सरकारी वकिल कार्यालय रुपन्देहीले मंगलवार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।