बुधबार, अशोज २, २०८१

तिनतहको निर्वाचन एकैपटक गर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं। नेकपा (माओवादी) केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने निष्कर्ष निकालेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निष्कर्ष निकालेको हो।

सत्ता गठबन्धनसहित अन्य पार्टीहरुलाई समेत साथमा लिएर तीन तहको निर्वाचन एकै पटक गर्दा आर्थिक रुपमा कम खर्चिलो हुने बैठक पछि प्रवक्ता कृष्णबहादुर महराले बताए। कम खर्चमा तीनै तहको निर्वाचन एकै पटक गर्ने वातावरण मिलाउनुपर्ने बैठकमा सहभागी नेताहरुले धारणा राखेका थिए।

प्रवक्ता महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताए।

यस्तै माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ।

साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए। यस्तै एमसीसीका विषयमा समेत यसअघि बनेको तीन सदस्यीय कार्यादललाई संशोधन गरेर मात्रै संसद्बाट पारित गर्नुपर्ने सुझाव पार्टीले दिएको उनले बताए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?