काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदाे फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ । सीसीएमसीसीको आज आइतावारको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।
काेराेना भाइरस सङ्क्रमणका कारण माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म पाँच दिन भने विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।
यस्तै आजको बैठकले काठमाण्डाै उपत्यकाभित्रका निजी गाडीमा भोलि साेमवारदेखि नै लागरू हुने गरी जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै सीसीएमसीको आज बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो ।
यस्तै रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत राख्न पाउने, पार्टी प्यालेसहरू बढीमा कुल क्षमताको २५ प्रतिशत मानिस राखेर सञ्चालन गर्न सीसीएमसीसीले सिफारिस गरेकाे छ । यस्तै डान्स बार, दोहोरी, नाच घर, सिनेमा हल, जिम खाना, स्विमिङ पुल फागुन १ गतेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्नका लागि सिफारिस गरिएको छ । उज्यालो अन्लाईन बाट।