सोमवार, अशोज २१, २०८१

जेम्स वेब टेलिस्कोपले पत्ता लगायो पृथ्वी जस्तै गह्र

गत वर्षदेखि सञ्चालनमा आएको जेम्स वेब टेलिस्कोपले कैयौँ नयाँ कुराहरू पत्ता लगाएको छ। यसले एउटा नयाँ उपलब्धि हासिल गरेको छ।

अन्तरिक्षमा स्थापित सबैभन्दा ठूलो उक्त टेलिस्कोपले पहिलो पटक एउटा ग्रह पत्ता लगाएको छ।

उक्त ग्रह पृथ्वीसँग निकै मिल्दोजुल्दो देखिन्छ।

ब्रम्हाण्डको नयाँ रहस्य पत्ता लगाउने जेम्स वेब टेलिस्कोप के हो
१० अर्ब डलरको टेलिस्कोपबाट लिइएका ब्रह्माण्डका रोमाञ्चक तस्बिर
वैज्ञानिकहरूले भविष्यमा उक्त ग्रहबारे थप नयाँ कुरा थाहा पाउन काम गर्ने योजना बनाएका छन्।

वैज्ञानिकहरूले के फेला पारे?
नासाले सन् २०२१ को डिसेम्बरमा जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरेको थियो
तस्बिर स्रोत,GETTY IMAGES
तस्बिरको क्याप्शन,
नासाले सन् २०२१ को डिसेम्बरमा जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरेको थियो

अक्टान्स तारामण्डलमा अवस्थित उक्त चट्टानी ग्रह पृथ्वीबाट ४१ प्रकाशवर्ष पर छ। उक्त ग्रहको नाम एलएचएस ४७५बी (LHS 475b) राखिएको छ।

सबैभन्दा पहिला नासाको एउटा भू-उपग्रहले उक्त ग्रह पत्ता लगाएको थियो। तर जेम्ब वेबले उक्त ग्रहको अवलोकन गर्दै त्यसको अस्तित्व पुष्टि गरेको हो।

यो निकै नयाँ ग्रह भएकाले यसबारे धेरै कुरा जान्न बाँकी छ। तर वैज्ञानिकहरूले केही प्रारम्भिक विवरण दिएका छन्।

यो ग्रह सानो छ र यसको आकार पृथ्वीको जत्रै छ।

तर त्यहाँको तापक्रम पृथ्वीको भन्दा केही सय डिग्रीले बढी भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

जेम्स वेबले खिच्यो घेरा र चन्द्रमाहरू पनि देखिने वरुण ग्रहको अद्भुत तस्बिर
लाखौँ ताराको उत्पत्तिको रहस्य यसरी खोज्दै छन् वैज्ञानिकहरू
वैज्ञानिकहरूको टोलीले उक्त ग्रहमा वायुमण्डल भए नभएकोबारे थाहा पाउने प्रयास गरिरहेको छ।

यद्यपि उक्त ग्रहमा शनि ग्रहको चन्द्रमा टाइटनमा भए जस्तो मीथेन ग्यासको बाक्लो वायुमण्डल नभएको कुरामा उनीहरू विश्वस्त देखिएका छन्।

यस उपलब्धिबाट उत्साहित भएका वैज्ञानिकहरूले भविष्यमा अरू ग्रहहरू पनि फेला पर्ने आशा गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ब्रह्माण्डका नयाँनयाँ रहस्य पत्ता लगाउन १० अर्ब डलरको टेलिस्कोप

“पृथ्वीको जत्रो आकारको चट्टानी ग्रहका यी प्रारम्भिक अवलोकनात्मक परिणामले भविष्यमा जेम्स वेबमार्फत् चट्टानी ग्रहको वायुमण्डलबारे अध्ययन गर्न सम्भावनाको ढोका खोलेका छन्,” नासाका निर्देशक मार्क क्लाम्पिनले भने।

“जेम्स वेबले हामीलाई सौर्यमण्डलबाहिर पृथ्वीसमान संसार भएको नयाँ धारणालाई अझ राम्ररी बुझाइदिएको छ, उनले भने, “हाम्रो अभियान बल्ल सुरु भएको छ।”

वैज्ञानिकहरूले नयाँ ग्रहबारे थप जानकारी चाँडै पाइने अपेक्षा गरेका छन्।

उनीहरूले केही महिनामा थप अवलोकन गर्ने तालिका बनाएका छन्। स्रोत बिबिसी न्युज।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?