बुधबार, अशोज २, २०८१

आउंदो जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो ।

त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड-१९ का कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिनुभयो ।

यस्तै त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र रायसुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गर्नुभएको छ । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा डा भुसालले जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।-नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?