शुक्रबार, मंसिर २१, २०८१

रूसी अक्टोबर क्रान्ति र शैक्षिक विकास

अनिल किशोर घिमिरे
रूसमा अक्टोबर समाजवादी क्रान्ति भएको एक सय वर्ष पुगेको सन्दर्भमा संसारभरि शतवार्षिकी कार्यक्रमहरू चली रहेका छन् । वास्तवमा विश्व समाजवादी आन्दोलनमा एउटा उच्च स्तरको परिवर्तनकारी उपलब्धिको रूपमा उक्त क्रान्तिलाई लिइन्छ । महान् अक्टोबर क्रान्ति मानव इतिहासमा वर्गीय शोषणबाट मुक्त समाज निर्माणका लागि भएको पहिलो अग्रसरता थियो । यो मजदुर, किसान र शोषित जनताले गरेको प्रथम सफल क्रान्ति थियो । अक्टोबर क्रान्तिभन्दा अगाडि संसारमा थुप्रै क्रान्तिहरू भएका छन् । तर एउटा क्रान्तिकारी दर्शन, कार्यक्रम, विचारधारा, युद्धनीति र नयाँ समाज निर्माण गर्ने योजनाका साथ सङ्घर्षको सुरुवात भएकाले यसले नै उचाइ प्राप्त गर्यो र संसारभरिका मजदुर वर्गलाई ब्युँझाउने काम गर्यो । विश्वयुद्धको विरोध गर्दै शान्ति, रोटी र जमिनको माग सहित सुरु भएको विद्रोहले विजय हासिल गरेपछि सोभियत रूसको पुनर्निर्माण सुरु भयो ।
लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भई सकेपछि सामाजिक, आर्थिक रूपान्तरणको काम सुरु भयो । खास गरी पिछडिएको शैक्षिक अवस्था, परम्परावादी सांस्कृतिक स्तर र निरक्षरता नयाँ सोभियत निर्माणका मुख्य शत्रुहरू भएकाले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्ने योजना लेनिनले पेस गरे । बोल्सेभिक पार्टीले समाजवादी शैक्षिक व्यवस्थाको प्रारूप तयार पारी कार्यान्वयन गर्नेमा तीव्र रूपमा कार्य सम्पादन गर्यो । १९१७ को क्रान्ति सम्पन्न भएपछि १९१८ मा पार्टी कार्यक्रमको मस्यौदा तयार गर्दै लेनिनले स्कुल शिक्षाका बारेमा उल्लेख गरेका छन्– ‘यो सुनिश्चित गरिनु पर्छ कि १६ वर्षसम्म सबै केटाकेटीहरूलाई निःशुल्क र अनिवार्य एवं बहुप्राविधिक (सबै प्रमुख शाखाहरूबाट सिद्धान्त र व्यवहारमा परिचित गराउने खालको) शिक्षा उपलब्ध होस् । शिक्षा बच्चाको सामाजिक उत्पादक श्रमसँग घनिष्ट होस् ।’ यस मस्यौदामा लेनिनले बच्चाहरूको सामाजिक उत्पादक श्रमको अनिवार्यतामा जोड दिएका थिए । अक्टोबर क्रान्तिको जगमा सोभियत शिक्षा प्रणालीलाई श्रम, व्यावसायिकता र प्रविधिसँग जोडेर अगाडि बढाइएकाले यसले किसान, मजदुर, सिपाही र आम जनतालाई प्रभावित पार्यो । बलियो शैक्षिक आधार बिना समाजवाद निर्माणमा टेवा पुग्न नसक्ने भएकाले त्यही प्रकारको नीतिगत व्यवस्था हुँदै गयो ।
क्रान्तिपूर्व अरू युरोपियन मुलुकभन्दा धेरै पछाडि कम विकसित राष्ट्रको रूपमा रूस परिचित थियो । त्यहाँको शैक्षिक स्तर अत्यन्तै पिछडिएको थियो । स्कुल उमेरका बच्चाबच्चीहरू स्कुल जाँदैनथे । कतिपय धनी र पूँजीपति वर्गका मात्र स्कुल जाने गर्दथे । तर पनि सामान्य औपचारिक शिक्षा मात्रै प्राप्त गर्दथे । साक्षरता अत्यन्तै न्यून थियो । १९१७ अगाडि ३८ प्रतिशत पुरुष र १३ प्रतिशत महिला मात्र साक्षर थिए । यसै कारणले सुरुका दिनमा पोलिटेक्निकल शिक्षा पनि दयनीय नै भएकाले मुख्यः स्वयंसेवास्वरूप काठको काम गर्ने, कपडा सिलाउने, गाता सजावटको काम गर्नेसम्म सीमित भएकाले लेनिनले सम्पूर्ण शिक्षण संस्थाहरूमा विद्युतीकरणको शिक्षा गम्भीर रूपले दिइयोस् भनेर रूपरेखा तयार पार्ने काम गर्नु भयो । मजदुरले कसरी काम गर्छ ? उसले उत्पादनको प्रबन्ध कसरी गर्छ ? यसमा नियन्त्रण र हिसाबकिताब कसरी राख्ने भन्ने कुरा व्यावसायिक शिक्षाको उद्देश्य बन्यो । त्यही उद्देश्य अनुसार मजदुरलाई सङ्कीर्णताबाटमाथि उठेर व्यापक व्यावसायिक शिक्षा दिनु पर्छ भन्ने अभियान नै चल्यो । क्रान्तिपछि नयाँ आर्थिक परिस्थितिमा पोलिटेक्निकल, श्रम शिक्षा र चरित्र निर्माणको सिद्धान्त तयार गर्दै क्रूप्सकायाले बहुप्राविधिक शिक्षाको माक्र्सवादी लेनिनवादी बुझाइको शुद्धता बनाई राख्नका लागि सङ्घर्ष गरिन् । उनले शिक्षाको बुर्जुवा सिद्धान्त, श्रम शिक्षाका बारेमा महान् चिन्तकहरूको जनवादी विचारको आफ्नो वर्गहितमा उपयोग गर्ने, बुर्जुवा शिक्षाशास्त्रीहरूको प्रयासको आलोचनात्मक विश्लेषण गरेकी थिइन् ।
सोभियत शिक्षाको महत्वपूर्ण उपलब्धी भनेको छात्रछात्राहरूको बहुरूपी विकास गराउने योजना हो । त्यही अनुसार स्कुलको पाठ्यक्रममै प्रकृति अध्ययन, कला, म्युजिक, भौतिक सांस्कृतिक, सामाजिक, विज्ञान तथा अन्य विज्ञान र गणित विषयहरू समावेश गरिएको थियो । शिक्षाको पहिलो जनकमिसार एभी लुनाचास्कीले शिक्षा नै महान् शक्ति भएकाले निरक्षरता र अज्ञानताको समूल अन्त्य गरी रूसी अन्धकारलाई चिर्न सकिन्छ भन्ने महान् विचार अगाडि सारे । किसान, मजदुर र सिपाहीहरूले यो अभियानमा अपनत्व महशुस गर्दै पुरै स्वयंसेवी भूमिका निर्वाह गरे । यसैले चमत्कारिक रूपमा सोभियत शिक्षाले फड्को मार्यो । साम्राज्यवादी घेराबन्दीको कारण एक्लै परेको सोभियत रूसमा स्थानीय स्रोत–साधनको परिचालन र प्रबद्र्धन गर्ने गरी शिक्षालाई जोड्ने काम भयो । विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा सोभियत शिक्षाले विश्वलाई चकित बनायो । ‘अबदेखि हाम्रा विद्यालय दासताको जन्जिरबाट मुक्त भएका आफ्ना जनतासँग समाजवादको मार्गमा अगाडि बढ्नेछन्’ भन्ने लेनिनको उद्घोषसँगै उत्पादन र श्रमसँग एकाकार भएर शैक्षिक क्षेत्र अगाडि बढ्यो । युवक सङ्घको तेस्रो महाधिवेशन (१९२०) मा दिएको भाषणमा लेनिनले भनेका थिए– ‘युवाजन र किशोरहरूले शिक्षासम्बन्धी आफ्नो तमाम कार्यतर्फ यस प्रकारको रवैया अपनाउनु पर्छ कि प्रतिदिन हरेक गाउँमा हरेक सहरमा नौजवान मानिस सामूहिक श्रमको कुनै एक समस्यालाई व्यावहारिक रूपबाट हल गर्नका लागि काम गरोस्, चाहे त्यो सामान्य वा सिधासाधा नै किन नहोस् ।’
बच्चाको क्ष्ँमता अनुसार ज्ञान प्रवाह गर्ने, मजदुरका कामसँग उनीहरूलाई ध्यान केन्द्रित गराउने गरी विद्यालयले कार्य गरे । बच्चाहरूलाई केवल किताबी ज्ञान मात्र दिनु हुँदैन भनेर उनिीहरूलाई कुनै पनि काम कसरी राम्रोसँग गर्न सकिन्छ भन्ने कुरा सिकाउँदै लगियो । बच्चाहरूको दृष्टि तथा हातको गति अनुसार श्रमको सामान्य शिक्षा दिने र औजार छनौट गर्ने काम गरियो । उसको शक्ति र योग्यता अनुसार आफ्नो व्यवसाय खुशीसाथ र छिट्टै सिक्ने गरी काम गराइयो । डिसेम्बर १९२१ मा भएको सोभियतको नवौँ महाधिवेशनमा लेनिनले जोड गरे– स्कुलको काम सारा जनतन्त्रको पनि र जुन प्रदेश जुन इलाकामा स्कुल हुन्छ । त्यसको पनि आर्थिक कार्यभारसँग सम्बन्ध हुनु पर्छ । लेनिनले पटक पटक जीवन र व्यवहारसँग शिक्षालाई जोड्ने कुरालाई व्यवहारमा लागु गरेकाले नै देशको उत्पादकत्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्यो । जीवन र व्यवहारबाट अलग भएको केवल स्कुलसम्म सीमित भएको पढाइ र शिक्षाको कुनै अर्थ नभएको भन्दै स्कुलमा नौजवानहरूलाई मूलभूत ज्ञान प्राप्त हुनुपर्दछ । उनीहरूलाई शिक्षित बनाउनु पर्दछ । स्कुलमा निरन्तर अभ्यासको साथसाथै उनीहरूलाई शोषकहरूबाट मुक्ति प्राप्त गर्ने सङ्घर्षमा भाग लिने बनाउनु पर्छ भन्ने आदर्शमा शिक्षा पद्धति अगाडि बढ्यो । शिक्षासँगै भाषा, संस्कृतिको विकास तीव्रतम भयो । क्रान्तिपछि आफ्नो लिखित भाषा नै नभएका ४०भन्दा बढी जनजातिको समुदायले त आफ्नै लिपि, लिखित भाषा, साहित्यिक निर्माण गर्न सक्षम भए । यो सांस्कृतिक क्षेत्रको ठुलो उपलब्धि थियो ।
क्रान्तिपछिका केही वर्षहरूमा उत्पादन, श्रम र सामाजिक चेतनाप्रतिको आस्था, प्रविधि र विकासको समायोजन आदि कार्यहरूले समाजवाद निर्माणमा अतुलनीय योगदान पुग्यो । त्यसपछि विभिन्न पञ्च वर्षीय योजना कार्यान्वयन अवधिमा सम्पूर्ण सोभियत जनता उत्कृष्ट सोभियत निर्माणमा लागे । पिछडिएको जारशाही रूसलाई आमूल परिवर्तन गर्ने उद्देश्य पुरा गर्नु थियो । मोटर, ट्रयाक्टर, हवाइजहाज, मेसिन तथा औजार उत्पादन गर्ने कलकारखाना साथै इञ्जिनियर नै नभएको रूसलाई समृद्ध र शक्तिशाली राष्ट्र बनाउनु चानचुन विषय थिएन । शत्रुतापूर्ण पूँजीवादी मुलुकहरूले घेरिएको रूसलाई एक्लै समाजवादी निर्माणमा लाग्नु पर्ने चुनौती थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?