बुधबार, माघ २३, २०८१

संघीयता विरुद्धको आन्दोलनमा होमीन राजमोको आह्वान

 

खलंगा । राष्ट्रिय जनमोर्चाका लुम्बीनी प्रदेश अध्यक्ष बोम बमादुर खत्रीले संघीय शासन प्रणालीले देशको राष्ट्रियता र आर्थिक दुवै पक्ष कमजोर बनाउदै लगेको बताउनु भएको छ ।

आईतवार मल्लरानी गाउँपालिकाको खलंगामा आयोजित संघीयता र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश संरचना खारेजीको बिकल्प नरहेको जिकिर गर्नु भयो । राष्ट्रिय जनमोर्चाले शुरु देखिनै संघीयताको बिरोध गर्दै आएको उल्लेख गर्दै नेता खत्रीले प्रदेश संरचनाको खासै काम नभएको व्यवहारीक दृष्ट्रिकोणले समेत सिद्ध भई सकेको बताउँनु भयो । जनमोर्चाले चैत्र २४ देखि संघियताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन तय गरेको बताउँदै उहाँले निर्णाक रुपमै संघीयताको खारेजीका लागि सवैलाई आन्दोलनमा होमिन आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले राष्ट्रिय जनमोर्चाले विगत देखि सहि मुद्धाहरुलाई उठान गर्दै आएको उल्लेख गर्दै संघियता खारेजीको विषय पनि राष्ट्रिय हितका लागि हुने बताउनु भयो । उहाँले जनमोर्चाले विभिन्न कालखण्डमा उठाएका मुद्धाहरु सत्य सावित हुदै आएको र संघीयता खारेजीको मुद्धा पनि ढिलोचाढो सत्य सावित हुने बताउनु भयो ।

यस्तै नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले राष्ट्रियताको रक्षाको लागि नेपालमा संघियता खारेजी अनिवार्य रहेको बताउनु भयो । नेपालको ठूलो हिस्सा पछिल्लो समय संघियताको विपक्षमा रहेको उल्लेख गर्दै हाउँले यसको खारेजीका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नारायण जि.सी.,किसान संघ प्यूठानका अध्यक्ष गिरिराज पौडेल, जातिय समतासमाजका केन्द्रिय सदस्य सूर्य बहादुर सार्कीले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका महासचीब अम्मरध्वज रानाले संघियता र राष्ट्रियता सम्वन्धी अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
राजमो नेता डोर प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दुर्गा थापाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?