प्यूठान । देशभर माघ २२ गते देखि फाल्गुण ६ गते सम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी खोप) अभियान संचालन गर्न थालिएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम हटाउन पहिलो पटक देशभर अभियान संचालन गरिन थालिएको हो ।
प्यूठान जिल्लामा पनि अभियान सफल बनाउनका लागि विभिन्न तयारीहरु अगाडी बढेका छन् ।
अभियान सफल बनाउन जिल्ला र स्थानीय तह सम्ममा खोप समन्वय समिति र सरोकारवाला निकायहरु विच छलफल गरि अभियानको तयारी गरिएको छ । जिल्लामा रहेका सवै किशोरीहरुलाई खोप पहुँचमा ल्याउन र सुरक्षित तरिकाले खोप प्रदान गर्नका लागि छलफल र कार्ययोजना तय गरिएको हो ।
किशोरावस्थामा शारिरिक परिवर्तन हुने एक मुख्य उमेर समुह हो । प्रायः किशोरीलाई यहि उमेरमा महिनावारी समेत हुने गर्छ । यस्तो अवस्थामा एचपिभी खोप लिन मिल्छ वा मिल्दैन ? सवैले जानकारी लिन जरुरी छ ।
महिनावारी भएको अवस्थामा पनि खोप लिदा कुनै समस्या नहुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काको भनाई छ । किशोरीको महिनावारी र खोप बीच कुनै सम्वन्ध नहुने हुँदा सवै किशोरीलाई निर्धक्क खोप लिनका लागि उहाँले सुझाउनु भयो ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार प्यूठानमा विद्यालय जाने र विद्यालय बाहिर गरि कुल १३ हाजर ७ सय ६३ जनालाई यो खोप प्रदान गर्ने योजना गरिएको छ । जसका लागि १ सय ५० विद्यालय र विद्यालय बाहिर रहेका किशोरीको पहुँचका लागि थप ६५ वटा स्वास्थ्य संस्थावाट खोप संचालन गर्ने गरि तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।