प्युठान वन ढडेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ निर्माण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय प्युठानसंगको सहकार्यमा भएको कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायबिच एकदिने अन्तरकृया कार्यक्रम गरिएको हो।
जिल्ला समन्वय समिति खलंगा प्युठानको सभाहलमा भएको आगलागी नियन्त्रण सम्वन्धी छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरी कार्ययोजना निर्माण गरिएको हो ।
आगलागी तथा डढेलो नियन्त्रणका लागी वडा स्तर सम्म कार्यदल गठन गर्ने, पुर्वतयारी गर्ने, घटना बारे सूचना प्रवाह गर्ने, नियन्त्रणको लागि तयार रहने, स्वयंसेवकहरु परिचालन गर्ने, राहत समाग्रीको ब्यस्थापन लगायतका बिषय समेटिएर कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रतिनिधि, वन महासंघका प्रतिनिधि,पत्रकार लगाएतको उपस्थिति रहेको छलफलमा सबैले साझा रुपमा आगलागीका घटना नियन्त्रणमा ध्यान दिन आवस्यक रहेको बताएका थिए।
प्युठान जिल्लामा गत वर्ष १६८ वटा आगलागीका घटना भएकोले प्युठान आगलागीमा जोखिम रहेको भन्दै सबै सचेत रहनुपर्नेमा जोड गरिएको हो।
प्युठान जिल्लाको क्षत्रफल ५७।८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । जसमध्ये ४।९७ प्रतिशत घासे मैदान, सामुदायिक वन ४५१,कबुलियति वन १८४, संरक्षित वन १ र निजि वन ७ वटा छन् । वन ऐन २०७६ अनुसार आगलागीमा सम्लग्न दोषीलाई बिगो असुल सहित ६० हजार जरिवाना, तीन वर्ष कैद सजाय हुने ब्यबस्था रहेको छ ।