
प्यूठान । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले यसको खारेजीको विकल्प नरहेको बताउँदै आएको छ । संघीयताले देशमा राजनैतिक तथा आर्थीक संकट समेत निम्ताउदै आएकोले तत्काल यसको खारेजी गर्न राजमोले माग गर्दै आएको छ ।
आगामी चैत्र २४ गते देखि संघीयताको खारेजीको लागि काठमाण्डौ केन्द्रित आन्दोलनको घोषणा गरेको राजमोले आन्दोलनलाई शसक्त बनाउन पालिका तथा जिल्ला स्तरमा अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
आन्दोलनकै पुर्व तयारी स्वरुप जनमोर्चाको विषेश प्रभाव रहेको प्यूठान जिल्लामा आईतवार “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थीत विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, नागरिक अगुवा तथा राजमो कार्यकर्ताको सहभागीतामा कायर्यक्रम सम्पन्न भएको हो।
जुम्री प्यूठानमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले आर्थीक तथा राजनैतिक सवै हिसावले नेपालका लागि संघीयता घातक भएको टीप्पणी गर्नुभयो । कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले संघीयताका दुश्परीणाम विस्तारै देखिन थालेको बताउनु भयो । “संघीयताकै कारण बैदेशीक चलखेल देखि आर्थीक हिसावले समेत देश टाट पल्टीने अवस्थामा पुगेको छ”, खत्रीले भन्नु भयो “यसको खारेजीको विकल्प छैन ।”
विदेशी इसारामा कुनै छलफल र विमर्श विना ठूला राजनैतिक दलले सत्तास्वार्थका कारण संघीयता स्वीकार गरिएको बताउँदै उहाँले संघीयताले मुलुकलाई ठूलो संकटतर्फ अगाडी बढाएको उल्लेख गर्नुभयो । नेपालको आर्थीक तथा राजनैतिक हिसावले सात प्रदेश धान्ने क्षमता नभएको उल्लेख गर्दै उहाँले संघीयता नभएर देश विकास नभएको नभई सामन्ती एकात्मक राजतन्त्रात्मक प्रणालीका कारण मुलुक अगाडी बढ्न नसकेको टीप्पणी गर्नुभयो । प्रदेश सरकारको कुनै औचित्य नरहेको समेत स्पष्ट भई सकेका कारण स्थानीय सरकारलाई बजबुत बनाउँदै विकेन्द्रीकरणमा आधारीत एकात्मक राज्य प्रणाली अहिलेको आवश्यकता रहेको उहाँकाे बताउँनुभयाे । प्रदेश सरकार पाल्ने रकमले देशमै उद्योग धन्दा खोली स्वरोजगार सृजना गर्नुपर्ने अपरिहार्यता रहेको उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहाकार सुरेश थापाले व्यवहारीक दृष्ट्रिकोणले समेत नेपालमा संघिय शासन प्रणाली असफल भईसकेको जिकिर गर्नुभयो । प्रदेश संचालन गर्नकालागि नेपाली जनतालाई ठूलो करको भारी राज्यले बोकाउँदै आएको उहाँको टिप्पणी थियो ।
कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, नागरिक अगुवा लगाएतले विचार प्रकट गरेका थिए । उनीहरुले संघीयताको विषयमा व्यापक बहस आवश्यक रहेको औल्याए ।
जिल्लाका ९ वटा स्थानीय तह अन्तरगत विभिन्न पालिकामा पालिका स्तरका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको राजमो प्यूठानले जनाएको छ । संघीयता विरोधी आन्दोलन राजमोको आन्दोलन मात्रै नभई आम सचेतक तथा नागरिकको आन्दोलन भएका कारण आन्दोलनमा होमीन राजमोको आग्रह थियो ।