
प्यूठान । जिल्लामा ७८ हजार भन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने उद्येश्य सहित सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तरग जिल्लामा ७८ हजार ७ सय ९७ जना व्यक्तिहरु आवद्ध रहेको स्वास्थ्य विमा बोर्ड जिल्ला शाखा कार्यालय प्यूठानका प्रमुख जेड घर्तिले जानकारी दिनुभयो ।
जिल्लामा कुल ३४ प्रतिशत जनसंख्या मात्रै हाल सम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेका हुन । शाखा कार्यालय प्यूठानका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म १४ हजार ३ सय १९ परिवार आबद्ध रहेका छन् । स्वास्थ्य बिमामा आवद्ध रहेका मध्ये ६० प्रतिशतले स्वास्थ्य सेवा लिएको कार्यालय प्रमुख घर्तिको भनाई छ । गत आर्थिक वर्ष ०८१÷०८२ मा ५ हजार १ सय ३१ नयाँ बिमित संख्या थप भएको उहाँले बताउँनुभयो ।
स्वास्थ्य बीमा बोर्डको नियम अनुसार ५ जना सम्मको परिवारका लागि ३ हजार ५ सय र ५ भन्दा बढी सदस्य रहे उक्त रकममा प्रतिव्यक्ति ७ सय का दरले थप बिमा प्रिमियम रकम भूक्तानी गरि बिमा कार्यक्रममा आवद्ध हुन सक्ने व्यवस्था छ । बीमा कार्यक्रमा आवद्ध भए पछि ओपीडी मार्फत उपचार गराउँदा २५ हजार सम्मको उपचार सेवा र भर्ना भई उपचार गराउनु पर्ने खण्डमा थप ७५ हजार सम्मको सेवा लिन सकिने व्यवस्था रहेको छ । यस्तै सरकारले निर्धारण गरेका दिर्घ आठवटा रोगको उपचारमा थप १ लाख सम्मको उपचार सेवा प्रदान गर्ने व्यवस्था रहेको घर्तिले बताउनुभयो । क्यान्सर, मुटु रोग, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमरका बिरामीलाई उक्त सेवा प्रदन गर्ने प्रावधान छ । दीर्घ रोग अन्तरगत जिल्लामा १९ जना मृगौला रोगी, ८ जना क्यान्सर रोग र २ जना मुटु रोगीले उक्त सेवा प्राप्त गरेको घर्तिले बताउँनुभयो ।
जिल्लामा नागरिकको सहज उपचार सेवा पहुँच बृद्धिका लागि झिमरुक गाउँपालिका,माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाले विभिन्न प्रकृतिका व्यक्तिहरुको बीमा प्रिमियम शुल्क भूक्तानीमा साहायता प्रदान गर्दै आएका छन् ।
स्वास्थ्य बीमामा आवद्ध बढाउँन सवै पक्षको भूमिका महत्वपूर्ण
स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा सवैलाई ल्याउन सवै पक्षको पहल आवश्यक रहेको सरोकारवाला निकायको भनाई छ । स्वास्थ्य बीमा कार्यक्रमको दशौं स्थापना दिवसको अवसरमा विजुवारमा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले स्वास्थ्य बीमा पहुँच वृद्धिका लागि जनचेतनालाई प्राथमिकतामा राख्नु पर्ने सुझाव व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले सवै क्षेत्रका जनप्रतिनिधि र कर्मचारीहरुलाई कार्यक्रममा आवद्ध हुनका लागि कार्यालयको तर्फवाट समन्वय गर्ने बताउँनु भयो । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बाबु श्रेष्ठले हरेक नागरीको स्वास्थ्य सेवा पहुँच स्थापित गर्न स्वास्थ्य बीमा कार्यक्रम महत्वपूर्ण रहेको बताउँनुभयो । ‘सवैको न्यूनतम लगानीमा गरिव निमुखा व्यक्तिको स्वास्थ्य उपचार सेवाबाट बन्चीत हुन नपरोस् भन्ने यसको मुख्य उद्येश्य हो’,उहाँले भन्नुभयो ।
प्यूठान अस्पताल प्यूठानका प्रमुख सुवास पौडेलले बिरामीलाई दिएको सेवाबापतको रकम शोधभर्नामा समस्या रहदै आएको बताउनु भयो । स्वास्थ्य उपचार सेवा पहुँच बृद्धि गर्न स्वास्थ्य बीमा महत्वपूर्ण रहेता पनि कतिपय नीतिगत व्यवस्था सुधार गर्दै थप प्रभावकारी बनाउँनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहयोगी सावुत्रा रिजालले सेवा प्रदायक निकायवाट राम्रो सेवा वृद्धि गरे बीमित संख्यामा वृद्धि गर्न सहज हुने बताउँनुभयो । जनप्रतिनिधि, कर्मचारी समेत कार्यक्रममा आवद्ध हुन नमान्ने अनुभव रहेको उहाँले सुनाउनु भयो ।











