शनिबार, साउन १२, २०८१

क.कृष्ण थापाको चर्चा वा राजनीतिक अवसान !

 कृष्ण अधिकारी

केहि समय यता देखि गण्डकी प्रदेशको राजनीतिक घटनाक्रमलाई लिएर जताततै चर्चा हुँदै आएको छ । लेनिनले पुँजिवादी सँसदीय व्यवस्थालाई ‘खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’, भनेका थिए । त्योे व्यवस्था प्रति विश्वासनियता कम भएकाले नै नेकपा(मसाल)ले यसलाई कार्यनितिक उपयोगका रुपमा लँदै महत्वपूर्ण राजनैतिक लक्ष्य नयाँ जनवादी गणतन्त्र मानेको छ । क.कृष्ण थापा पार्टीले यो सँसदीय प्रणालीका विकृतिलाई भण्डाफोर गर्दै जनतालाई हाम्रो जनवादी गणतन्त्रको लक्ष्य सही छ भन्ने बुझाउन पठाएका प्रतिनिधि थिए । स्वभाविकरुपमा जाल, झेल, तिकडम, शुरा—सुन्दरी, अपहरण, किनमेल हाम्रो सँसदीय चरित्रका पनि अभिन्न अङ्ग निकै पहिलेदेखि बन्दै आएका थिए । तर यसपटक सबैलाई चकित पार्ने गरी निकै नौलो भयो । त्यसैले क.कृष्ण थापा निकै राजनीतिक चर्चा कमाए ।
२०४८ सालदेखि नेकपा (मसाल)ले स्थानीय र सँसदीय निर्वाचनमा भाग लिँदै आएको थियो । हाम्रो तर्फबाट पनि सँसदमा निर्वाचित भएका धेरै कमरेडहरु भए । पार्टीमा राजनीतिक मत भिन्नताका आधारमा कतिपय आज हामी सँगै छैनन । तर क.कृष्ण थापाले जसरी कसैले पनि सँसदमा आजसम्म पार्टीको निर्देशन उल्लँघन गरेका थिएनन् । अतः गण्डकी प्रकरणलाई पार्टीले पनि गम्भिर रुपमा लिएको छ र पार्टीको ऐँतिहाँसिक प्रतिष्ठा र छविमा धक्का लागेको बताएको छ ।
२०७७ पौष ५ गते ओलीले असँवैधानिक प्रकारले प्रतिनिधि सभाको विघटन गरेपछि केन्द्रमा ओली सरकारलाई दिएको समर्थन पौष ६ गते नै फिर्ता लिईएको थियो।त्यस्तै प्रदेशहरुको हकमा नेकपा(मसाल)ले २०७७ माघ ११ गतेको वक्तव्यमा भनिएकको छ, ‘ओली पक्षको नेतृत्वमा कायम रहेका प्रदेश सरकारका विरुद्द प्रस्तावित हुने अविश्वासको प्रस्तावलाई हामीले समर्थन गर्ने निति अनुसार प्रदेश नँ.१ र बागमती प्रदेशमा दर्ता भएका प्रदेश सरकार विरुद्द अविश्वास प्रस्ताव प्रति हाम्रो समर्थन रहने छ ।’ त्यसैलाई पुनःप्रष्ट पार्दै २०७८ वैशाख ११ गतेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीले प्रदेशका सरकारहरु बारे पनि आफ्नो नीति प्रष्ट गर्दै आएकोछ । प्रदेशहरुमा पूर्व नेकपा वा त्यसका घटकहरु बीचमा सहकार्य भएर सरकारको सञ्चालन भैरहेको अवस्थामा उनीहरुलाई आफ्नो समर्थन दिँईरहने हाम्रो नीति रहेको थियो। तर त्यस प्रकारको स्थिति भँग भएको अवसथामा ओली पक्षको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसका विरुद्द आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने नीति पनि हामीले घोषित गरेका थियौ। त्यस प्रकारको नीति अनुसार नै १ नं. तथा बागमती प्रदेशमा ओली पक्षको प्रदेश सरकारका विरुद्द अविश्वासको प्रस्ताव आउँदा हामीले ती प्रस्तावरुलाई समर्थन गरेका थियौ । ती दुवै प्रदेशहरुमा हाम्रो पक्षका साँसदहरु नभएको हुनाले त्याहाँ अविश्वास प्रस्ताव प्रतिको हाम्रो समर्थन नैतिक प्रकारको नै थियो । गण्डकी र लुम्बिनीमा त्यही प्रकारको स्थिति उत्पन्न हुँदा हामीले पहिले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसका विरुद्द आएको अविश्वासको प्रतावलाई समर्थन गर्ने हाम्रो नीति रहेको थियो र त्यो नीति अहिले पनि कायम छ ।
उपरोक्त भनाईहरुले पार्टीको नीति निकै पहिल्यै देखिनै प्रष्ट थियो भन्ने कुरा क.कृष्ण थापाले नबुझेका होईनन् । हुन सक्दछ पार्टी भित्र कृष्ण थापाको असहमति थियो र अन्यहरुको पनि होला र छन । जीवित पार्टी भित्र अन्तर बिरोध चलिरहन्छ र नयाँ नयाँ अन्तर विरोध पनि सृजना भैरहन्छ । युगिन परिवर्तनको लक्ष बोकेर अगाडि बढेको एउटा सिपाही जो सुकै भए पनि मुलतःप्रतिक्रियावादी सरकारको फेरबदलका सामान्य घटनाहरुमा व्यवस्थाको भण्डाफोर गर्न गएको व्यक्ति त्यसैको गुलियो चास्नीमा लट्पटियो भने के हुन्छ? पार्टीका लागि अहिले केन्द्रमा होस वा प्रदेशहरुमा विद्यमान सरकारहरुको परिवर्तन वा नयाँ सरकारहरुको गठन अस्थायी कार्यनितिक प्रश्न हो ।
आज बाग्लुङका हाम्रा पर्टीका शुभचिन्तक र मतदाताहरुका भावनाहरुलाई सिरनी बनाएर हाम्रा साँसदले जुन छद्मभेषी आफ्ना करतुत छिपाउन खोजेका छन त्यो सरासर झुट र बैमानी हो । जुन भावि दिनमा प्रकट हुँदैजानेछ । त्यही पनि अपेक्षा गरौँ अडकल गलतनै सावित होस् । पार्टी हाम्रा शुभचिन्तक र मतदाताहरूका भावनाहरुसँग मात्र नजिक छैन, समग्र देशको बस्तु स्थितिमा अहिले पनि वामपँथीहरुकै सरकार बनोस् भन्ने धारणा पार्टीको वैशाख १० गतेको वक्तव्यको निम्न भनाईले प्रष्ट पारेको छ, ‘हाम्रो पार्टीले साँसदको पुनस्स्थापना पछि साँसदको अवस्थाको मुल्याङकन गर्दै यो कुरामा जोड दिँदै आएको छ कि अहिलेको स्थितिको समाधानका लागि दुईटा कुराको आवश्यकता छ । प्रथम, पूर्व नेकपाको एकीकरण हुनुपर्छ वा त्यो सम्भव नभएमा पूर्व नेकपा विभाजित घटकहरसको बीचमा सँयुक्त मोर्चा बनाएर वामपँथी सरकारको निर्माण हुनु पर्छ । तर त्यसका लागि ठूलो बाधक ओलीनै छन । त्यसकारणले त्यस प्रकारको एकीकरण वा सँयुक्त मोर्चाका लागि ओलीको बहिर्गमन निर्णायक सर्त हो र हुनुपर्दछ । तर पूर्व नेकपा वा त्यसका विभाजित घटकहरुमा उच्च प्रकारको चेतना भएमा नै त्यो सँभव हुनेछ । त्यो सँभव नभएमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका बिरुद्द सँघर्षमा उत्रिएका शक्तिहरुले आपसमा कार्यगत एकता वा सहकार्य गरेर अहिले देशमा गम्भिर बन्दै गैरहेको सँबैधानिक र राजनीतिक सँकटमाथि नियन्त्रण गर्नका लागि पहलकदमी गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
काँग्रेससँगको हाम्रो सहकार्य सँघर्ष, एकता र सँघर्षको नीतिसँग जोडिएको छ भने वामपँथीहरु सँग एकता, सँघर्ष र एकता सँगवर्षौदेखि घोकाउँदै आएको यो नीति सँग पार्टीका समर्थक र शुभचिन्तक अनविज्ञ छन भन्ने सोच्नु उनीहरुको बुझाई प्रति गरेको अपमान हो भन्ने के उनीहरुले नबुझ्लान ?
राजनीतिमा राजनीतिक नेतृत्व प्रतिको बुझाई पूर्वाग्रह भएर होईन, उसले खल्ने भुमिकाका आधारमा मुल्याङकन हुनुपर्दछ भन्ने म ठान्दछु । गिरिजाका शासनकालमा नेकपा (मसाल) र नेपाली काँग्रेसका बीचमा अनगिन्ती मुद्दामामिला र लडाई झगडाहरु भए । बाग्लुङ दक्षिणभेगको ज्यामिरघाट काण्डका भौतिक घाउँहरु पुरिए पनि मनका घाउहरु अझै हाम्रा पुरिएका छैनन् । म आफै पनि एक उदारण हुँ, पँचायतकालमा मात्र हिरासतमा बसेको मान्छे, काँग्रेस शासनकालमा ३-३ महिना जेलको यातना भोगको छु । तर पनि २०६२/०६३ सालको जन आन्दोलनमा म आफैले र सबै राजनीतिक दलले गिरिजालाई नेता मानेर नै जन-आन्दोलन सफल बनाएको हो र, मुलुकमा गणतन्त्र ल्याएको हो। यो कुरा बाग्लुङमा जनआन्दोलनमा सहभागी सबैलाई हेक्का छ नै ।
बाग्लुङमा विगतका सँविधान सभा र सँसदीय चुनावमा पनि काँग्रेस सँग कैयौ झडप र मुद्दा मामिला अझै छन । त्यसका बावजुध जिल्ला स्तरमा एक वर्ष अगाडि उद्योग वाणिज्य सँघको चुनाव र हालै पत्रकार महासँघको चुनावमा ने.का. पक्षीय अध्यक्षको उम्मेदवारलाई मानेर सँगै चुनाव जितेका छौ। अतः पार्टीले काँग्रेससँग सहकार्य गर भन्यो मैले मानिन र विद्रोह गरे भन्न कुन नैतिकता दिन्छ ?
केही दिन देखि गण्डकी प्रदेशमा क.कृष्ण थापाको राजनीतिक गतिविधिले केही बढी चर्चा बटुलेको छ। त्यो के भने राजमो वा नेकपा(मसाल)का साँसदले पनि पार्टीको नीति उल्लङ्घन गरे भन्ने नै हो। राजमोका साँसदलाई पनि सत्ताले गलत प्रभावमा पारेर गल्याउन सक्यो भनेर प्रायले आश्चर्य मानेका छन । अन्य सँसदीय पार्टीहरुमा सत्ताको गलत प्रभावमा परेर साँसदहरु दाँया-बाँया गर्नु सामन्य नै मानिन्छ । तर यहाँ त निष्ठावान मानिएको पार्टी राजमोका साँसद पनि सत्ताको गलत प्रभावमा परेर दाँयाँबाँया गरेर पार्टीको नीति उल्लङ्घन गरे भनेर सबैलाई गम्भिर र आश्चर्य बनाएको छ। किन भने सबै राजनीतिक पार्टी र सचेत राजनीतिक बुद्धिजीविहरुलाई राजमो वा नकपा(मसाल)ले जे भन्छ त्यो गर्छ भन्ने विश्वास थियो । हाम्रो पार्टीले सँसदीय अभ्यासमा लामो समयदेखि आर्जन गर्दै आएको त्यो विश्वास गण्डकी प्रदेशमा क.कृष्ण थापाले डगमगाई दिए । त्यसकारण पनि उनी आज विभिन्न कोणबाट चर्चामा छन ।
ईमानदारीता र नैतिकता मानिसका अमुल्य निधिहरु हुन । यो पक्षको जुन सुकै स्थानमा पनि मुल्याङकन हुन्छ । २०७८ वैशाख १२ गते म लगायत राजमो गण्डकी प्रदेश अध्यक्ष शँकर बराल र महासचिव मनोज भट्ट समेतको उपस्थितिमा माननीय कृष्ण थापाको अध्यक्षतामा राजमो गण्डकी प्रदेश सँसदीय दलको बैठक माननीय खिम बिक्रम शाही र माननीय प्यारी थापा समेतको उपस्थितिमा बसेको थियो । उक्त बैठकले गण्डकी प्रदेशमा सरकारका विरुध्द अविश्वासको पक्षमा पार्टी केन्द्रको निर्देशनलाई कार्यन्वयन गर्ने निर्णय एकमतले पारित गरेको थियो।उक्त निर्णय पछि हाम्रो नीति पूर्ण कार्यन्वयन हुन्छ भन्नेमा विशवस्त नहुने कुरै भएन।सबै पार्टीका जिम्मेवार सदस्य भएकाले कसै प्रति शँका गर्ने र निगरानी गर्ने भन्ने सोच नै आएन । अन्य पार्टीका सरकार विपक्षमा रहेका सबै माननीय सदस्यहरुलाई सँयुक्त रुपले एउटै होटलमा रहने व्यवस्था मिलाउँदा पनि हामीले त्यो कुराको आवश्यकता ठानेनांै। किन भने हामी निर्णय गरिसके पछि निर्णय कार्यन्वयनका पक्का छौ भन्ने विश्वस्त थियौं । क.कृष्ण जि तपाईको ईमानमा आफै उपस्थित भएर पनि हामी छक्कियौ।हामी छक्किए पनि तपाईको ईमानदारीता र नैतिकता के हो? स्वयम तपाईको आत्मलाई नछक्काउनु होला । तपाईको उपसथिति रहेको ठाउँमा यो जहाँ पनि काम लाग्ने छ ।
यस विषयमा पार्टीले सुनाउने निर्णयका बारेमा त तपाई स्पस्ट नै हुनुहुन्छ । कैयौ साथीहरु छुटे तर ३६ वर्ष देखिको हाम्रो मित्रता र निरन्तर यात्रा अझ अगाडी सम्म बढ्ने छ। क.कृष्ण थापाको अहिलेको राजनीतिक चर्चा सँगै भावी राजनीतिक जीवन अवशान हुने छैन भन्ने विश्वास राख्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal