शुक्रबार, चैत्र १६, २०८०

एमालेको वडा अधिवेशन पांच हजार बढी वडामा सर्वसम्मत नेतृत्व आयो

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज सम्पन्न भएको जानकारी दिए।

‘करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ,’उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।’

सचिव तामाङका अनुसार ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु प्राप्त भएको छ । साथै, बाँकी वडामा पनि शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको उनको भनाइ छ

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए। देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal