शनिबार, साउन १२, २०८१

एमसीसी सम्झौता संशोधन होइन जरै देखि पुरै खारेज गर्नुपर्छ :केसी

श्यामलाल पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्वमा रहेको बताउनु भएको छ । नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनातले बुझी सके पनि सत्तामा बस्नेहरुले भ्रम फैलाएको केसी बताउनुभयो ।

एमसीसीका विरुद्व मंगलबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताउनुभयो । एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको उहाँको भनाई छ ।

विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनका विरुद्व गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा केसीले जोड दिनुभयो । महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिँदा पनि सत्तामा बस्ने कतिपय दल र ती दलका नेताहरुले भ्रम छरेको उल्लेख गर्दै अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको बताउनुभयो ।

राष्ट्रियताको पक्षमा एमसीसीको विरुद्वमा संसदमा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउँदै केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांग्रेस र एमाले मिलेर संसदबाट पास गराउन सक्ने भएकाले जनतालाई सचेत बनाएर आन्दोलनमा उर्तानुपर्ने उहाँले बताउनुभयो ।

उहाँले आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र तिनका नेताहरुको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बताउनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले नेपालको कानुनभन्दा माथि राखेर एमसीसी ल्याउने षडयन्त्र भैरहेको बताउँदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्त ल्याउन खोजेको एमसीसी पूर्णरुपले खारेज गर्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउँदै आन्दोलनको दबाबबाट खारेज गरिने बताउनुभयो ।

नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको अर्को कुनै विकल्प छैन भन्नुभयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका नेता शसी विश्वकर्माले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आन्दोलनलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेकपा (मसाल), नेकपा (माले), विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका राजनीतिक दलले बुटवलमा एमसीसी विरुद्व विरोध सभाको आयोजना गरेका थिए ।

देजमोका राजु भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलमा प्रदर्शनपछि वीपी चोकमा सभाको आयोजना गरिएको हो ।
मंगलबार बुटवलसहित देशभर एमसीसी सम्झौताको विरुद्व विरोध प्रदर्शन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal