शनिबार, साउन १२, २०८१

झिमरुक गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्यो ,सांसद पौडेल द्वारा उद्घाटन

 

प्युठानको झिमरुक गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका भवनको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले उद्घाटन गर्नुभयो ।

बिहीबार भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभयो । उहाँले निर्वाचन नहुँदासम्म हालकै जनप्रतिनिधीहरुले काम चलाउने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पौडेलले जनताको नजिकको सरकार स्थानीय तहलाई थप बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले प्रादेशिक तहले स्थानीय तहको अधिकार कटौती भएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित भ्यागुतेमा निर्मित दुई तले भवनमा २२ वटा कोठा, बैठक कक्ष, अपांगमैत्री शौचालय, आपतकालिन ढोका, भण्डार कक्ष लगाएत निर्माण गरिएका छन् ।

भवन चार तलाको बनाउने डीपीआर तयार गरिएको छ । तर, हाललाई दुई तलामात्र निर्माण पुरा छ । चार तला पुरा भएपछि लिफ्टको समेत व्यवस्था हुने छ । लिफ्ट संचालनका लागि संरचना अहिले नै तयारी अवस्थामा राखिएको छ ।

प्रमुख प्रशासनिक भवन सहित धेरैजसो वडा कार्यालयका भवनहरुको निर्माण समेत अन्तिम चरणमा भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी दिनुभयो । उहाँले आफ्नै कार्यकालमा गाउँपालिकालाई व्यवस्थित रुपमा कामकाज संचालन गर्नेगरी कार्यालय निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर पुरा गरिएको बताउनुभयो ।

केही वर्ष भाडाका भवन र गाउँपालिका केन्द्र तोकिएपछि सभाहललाई विभाजन गरेर कार्यालय संचालन गरिएको थियो ।आठ वटा वडामध्ये हालसम्म वडा नम्वर १, ३, ४, ५ र ६ नम्वर वडाको नयाँ भवन बनिसकेका छन् । अन्य भवन निर्माणको प्रक्रियामा छन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७ करोड ६६ लाख २३ हजार ६ सय ४६ रुपैयाँ लागतमा रविना/आँशु/मल्लरानी जेभीले भवन निर्माण गरेको हो । सम्झौता अवधिमै निर्माण व्यवसायीले काम सम्पन्न गरेका हुन् ।

भवन उद्घाटनको अवसरमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाललाई सम्मान गरेको थियो । त्यस्तै, भवन निर्माणको जिम्मा पाएको रविना/आँशु/मल्लरानी जेभीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकामा कार्यरत सब इन्जिनियर नगेन्द्र आचार्य र आदेश जिसीलाई समेत सम्मान गरिएको छ । गाउँपालिका भवन निर्माणका लागि निःशुल्क जग्गा दिने २४ जना जग्गाधनीहरुलाई पनि गाउँपालिकाले सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal