काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।

आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका ‘रेफ्री’ को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।

राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई आग्रह गर्दै सभामुख सापकोटाले सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको उहाँले जानकारी दिनुभयो । सभामुख सापकाेटाले संसदमा विचाराधीन विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।