मङ्लबार, माघ २२, २०८१

  म माग्न आउनेछु !

 

सागर बेल्वासे 

 

धन सम्पत्तिको लागी होइन
तिम्रो घरमा,
तिम्रा बासङ्ग,
मेरो खुसी माग्न आउनेछु !

छोरीको खुसी देख्न,
ऋणसङ्ग नआत्तिनुभएका,
दु:खसङ्ग नडगमगाउनुभएका,
रोगसङ्ग नगल्नुभएका,
उमेरसङ्ग नथाक्नुभएका,
तिम्रा बाको खुसी,
समालेर राख्न आउनेछु !

सम्पत्ति, पद र प्रतिष्ठालाई सफलता ठान्ने समाजमा हुर्किएका हामि
तिम्रा पनि ठूला सपना हुन्थे होलान्,
तिम्रा पनि आकांक्षा हुन्थे होलान्,
घरको चुहिने छानोमुनी बसेर,
आमाको फुटेका पैतला र बाबाको फुस्रा हातहरूले गरेको दु:ख देख्दै,
भौतिक सम्पत्तिलाई वास्ता नगर्ने तिमी,
फगत तडकभडक नगर्ने तिमी !
मसङ्गै झुपडीमा बसेर,
सुख दुख गर्दै,
अनेक दु:ख झेल्न तयार भएर !
मसङ्गै आउने बिचार गरेकी तिमी
त्यसैअनुसारका शिक्षा र संस्कार,
तिम्रा मूल्य र मान्यतालाई,
तिम्रो बिचार र हैसियतलाई,
सबै कुरालाई स्विकार्दै
तिम्रो साथ खोजेर
म तिम्रो साथ माग्न आउनेछु,

तिम्रा बा’ले
आफ्नो काखलाई रित्तो बनाएर
घरलाई शून्य बनाएर
आगनलाई उजाड बनाएर
तिमिलाई बिदाई गर्दा पनि
सन्तोषको सास फेर्न मिलोस्,
सधै खुसी देख्ने अवसर मिलोस्,
त्यही विश्वासका साथ
म तिमिलाई माग्न आउनेछु !

तिम्रो हात मेरो हातमा राखेर
जिन्दगीका हरेक यात्रा सङ्गै गरौंला,
अभावै अभावका बाबजुदपनि
हाम्रा ओठमा मुस्कान भरौंला,
सुखदुःखमा सङ्गैसङ्गै रहन
म तिमीलाई तिम्रो घरबाट
हाम्रो घरमा लैजान आउनेछु !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?