आइतवार, पुस १३, २०८२

ठुला राजनैतिक दलको भ्रष्ट चरित्रले बैदेशिक चलखेल निम्तायो : दुर्गा पौडेल

प्यूठान । ठूला राजनैतिक दलहरुले जनताका समस्या भन्दा भष्ट्राचारलाई प्रश्चय दिदै जाँदा देशमा वैदेशीक शक्तिको हस्तक्षेप निम्ताएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बताउँनु भएको छ । राष्ट्रिय जनमोचा प्यूठानले विजुवारमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै पौडेलले पालैपालो सत्ताको नेतृत्व गरेका ठूलादल भष्ट्राचार गर्नमानै केन्द्रीत हुँदा विभिन्न शक्तिहरुले खेल्ने मौका पाएको बताउँनु भयो ।

भदौ २३ को जेन्जी आन्दोलनको स्मरण र बर्तमान राजनैतिक संकटलाई केन्द्रीत गर्दै उपाध्यक्ष पौडेलले ठुला राजनैतिक दलको कुशासन र भष्ट्राचारका विरुद्ध उठेको जेन्जी आन्दोलनलाई प्रयोग गर्दै वैदेशिक शक्तिहरुले उपयोग गरेको बताउँनुभयो । जेन्जीहरुमा स्पष्ट दृष्टिकोण र नेतृत्व नहुँदा जेन्जी आन्दोलन अनेत्रैवाट परिचालन हुन पुगेको उहाँको भनाई थियो । युवाहरुमा सहि वैचारिक दृष्टिकोण र नेतृत्व आवश्यक रहेको उहाँले बताउँनुभयो । “युवा हुदैमा सवै सहि गर्छ भन्ने होईन”, उपाध्यक्ष पौडेलले भन्नुभयो, “जेनजी आन्दोलनमा फटाई गर्ने पनि जेनजी थिए । त्यहि फटाहाका विरुद्ध लड्ने पनि जेनजी थिए ।”

भष्ट्राचार र तत्कालिन सरकारले चालेका दमनकारी नीतिका विरुद्ध जेन्जीको आन्दोलनमा आफ्नो पार्टीको समेत साथ रहेको उहाँले स्पष्ट पार्नु भयो । बारबरा फाउण्डेशनको नाममा अमेरिकाले जेनजी आन्दोलनलाई हाइज्याग गरेको उहाँले आरोप लगाउँनुभयो ।

जेन्जी आन्दोलन पश्चातको सरकार विदेशी शक्तिको आडमा गठन भएको औल्याउँदै उहाँले तोकिएको मितिमा निर्वाचन गर्नेमा शंका रहेको उहाँको भनाई छ । अमेरिकाले नेपालमा खोलेका पार्टी र उसका एजेन्टहरुले जित्ने निश्चित भए देशमा चुनाव हुन्छ होईन भने विभिन्न बाहाना बनाएर निर्वाचन सार्ने कसरत अगाडी बढाउने उहाँले ठोकुवा गर्नु भयो । पछिल्लो समय देशको राष्ट्रियता नै गम्भीर संकटमा रहेको औल्याउँदै उहाँले देश जोगाउनका लागि मताधिकारको सहि उपोग गर्न समेत आह्वान गर्नुभयो ।

सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्वीनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अमेरिकी सिआईएवाट संचालित रहेको आरोप लगाउनु भयो । विभिन्न चलखेलका कारण सहकारी ठगीको अभियोग लागेका लामिछानेलाई जेलमुक्त गर्नु सहकारी पिडितको विरुद्धमा रहेको उहाँको भनाई थियो । “भोली परिस्थीति यही रहि रहन्छ भन्ने होईन” नेता खत्रीले भन्नुभयो, “सहकारी अपचलनको गम्भीर अभियोग रहेका रविलाई जेलमुक्त गर्ने न्यायाधीसको पनि त्यतिवेला के हालत हुने हो परिस्थीतिले त्यो कुरा निक्र्यौल गर्ने छ ।”

अखिल छैठौंका अध्यक्ष सुवास जि.सीले पार्टी भिडले नभई सहि विचारले ठूलो सानो रहने बताउँनु भयो । “मसाल सानो छ । मसालको छोप्ने हाँगो पनि छैन,टेक्ने ठाउँ पनि छैन । मसालले विकास कसरी गर्छ । प्यूठानमा यही कुरा सिकाइन्थ्यो”उहाँले भन्नुभयो, “आज ठूला पार्टीको सत्यानास कसरी भयो, बर्वादी कसरी भयो यो कुराको हेक्का राख्न जरुरी छ ।”

राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सभालाई नेकपा मसालका लुम्वीनी प्रदेश प्रवक्ता तिलक जिसी., लुम्वीनी प्रदेश सासंद तारा थापा लगाएत नेताले सम्वोधन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal