
प्यूठान स्वर्गद्धारी नगरपालिकामा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (सिविआर) सञ्चालन भएको छ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आर्थिक सहयोगमा राष्ट्रिय अपांग सेवा संघ प्यूठानले चालु आर्थिक वर्षको लागि सिविआर कार्यक्रम सञ्चालन गरेको हो ।
स्वर्गद्धारी नगरपालिकामा सिविआर समन्वय तथा अनुगमन समिति गठन गरिएको छ । नगरपालिकामा उप–प्रमुख मिनराज रानाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।
यसैबीच, अपांगतामैत्री भौतिक संरचना निर्माण विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । पालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी सिविआर जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले अपांगता भएका व्यक्तिलाई सम्मान गर्दै उनिहरुलाई समुदायमा पुर्नस्थापना गर्न जनप्रतिनिधि र कर्मचारीले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सिविआर कार्यक्रमले तोकेका गतिविधिलाई पालिकामा प्रभावकारी कार्यान्वय गर्न पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वर्गद्धारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले पालिकाले लक्षित वर्गको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै अपांगता भएका व्यक्तिहरुको सवालमा समेत काम गरेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको कृतिम हातखुट्टा राख्ने विषयमा समेत पालिकाले बजेट विनियोजन गरि कार्यान्वय चरणमा अघि बढेको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले प्रत्येक वर्ष पालिका छनौट गर्दै सिविआर कार्यक्रम सञ्चालन हुने गरेको जानकारी दिँदै यस वर्ष स्वर्गद्धारी नगरपालिका छनौट भएको बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख रामकरण पालले अपांगता भएका व्यक्तिहरुको आवश्यकता अनुसार उनीहरुलाई समुदायमा पुर्नस्थापना गर्नु नै कार्यक्रमको मुख्य उदेश्य भएको बताउनुभयो । उनीहरुले अवसर पाएमा समाजमा आफ्नो योगदान दिन सक्ने भएकाले त्यसतर्फ सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, शाखा प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, अपांगता सञ्जालका प्रतिनिधि लगायतको सहभागिता थियो ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष लोकराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव उजेली विकले गर्नुभएको थियो भने संचालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको हो।













