बिहिबार, बैशाख १३, २०८१

कुकुरले भेटायो रोशनी र शरदको मोबाइल

दाङ । दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँस्थित सामुदायिक जंगलमा तालिम प्राप्त कुकुरले रोशनी र शरदले प्रयोग गर्ने मोबाइल फरकफरक ठाउँबाट फेला पारेको हो ।

उनीहरूको शव फेला परेकै दिन असोज ३० गते कोहलपुरबाट दाङको तुल्सीपुरमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएर राखिएको छ । सोही कुकुरको सहयोगबाट उनीहरूले प्रयोग गर्ने मोबाइल फेला पार्न प्रहरी सफल भएको हो । साथै प्रहरीले रोशनीको चप्पल पनि भेटाएको छ ।

मोबाइल फोनका सेटहरू फेला परेपछि घटना अनुसन्धान गर्न थप सजिलो हुने आशा गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

टिपर चालकसहित केही पक्राउ
उनीहरूको शव फेला परेकै दिन दिउँसो प्रहरीले मकावनपुरको हेटौँडा घर भएका एकजना टिपर चालकलाई नियन्त्रणमा लिएको थियो । उनको मोबाइल प्रयोग गरी शरदका हजुरबुवालाई ‘तपाईंको नाति कहाँ छ ?’ भनेर पटकपटक सोधेको तथ्य खुल्न आएको प्रहरीले बताएको छ ।

ती टिपर चालकको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पक्राउ गरेको छ । ती युवकको गाउँ रोशनी र शरद बस्दै आएको ठाउँ दमारगाउँ हो । प्रहरीका अनुसार उनीहरू दुवैजना यातायात क्षेत्रमै कार्यरत मिल्ने साथी हुन् ।

शरदका बुवा म्यानपावर व्यवसायी हुन् । शरदकी आमा र उनको छोडपत्र भइसकेकाले शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए । उनको मामा गाउँमै एकै विद्यालयमा पढ्ने स्थानीय रोशनीसँगै हत्या भएको छ । रोशनीका बुवा आमा र दाइ पनि रोजगारीको सिलसिलामा भारतमा थिए । छोरीको हत्याको खबरपछि हाल उनीहरू घर आएका छन् ।

असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बेपत्ता भएका थिए । २८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी माउली हजुरआमाले निवेदन दिएकी थिइन् । खोजी गर्ने क्रममा शरदका माउली हजुर बुवाले नै उनीहरूको शव एकै ठाउँमा फेला पारेका थिए ।

घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ । कौवापुर प्रहरी चौकीदेखि झन्डै ५०० मिटरको दुरीमा छ । तुल्सीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा रहेको छ ।

उनीहरूको शवको आज अन्त्येष्टि गरिएको छ । रोशनी र शरदको अन्त्येष्टि दाङको तुलसीपुर उपमहानगरपालिका–१२, शीतलपुरस्थित बबई नदी घाटमा सँगै गरिएको हो । बाह्रखरी बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?