शनिबार, साउन १२, २०८१

थामिनसक्नु गर्मीका कारण रुपन्देहीमा २ जनाको मृत्यु

चौराहा हस्पिटल प्रालिमा शुक्रबार बिहान उपचारको क्रममा एक जनाको मृत्यु भयो । ६० वर्षका ओखलढुंगा, श्रीचौर ९ का खिम बहादुर मगर हिट स्ट्रोकका कारण मृत्यु भएको पुष्टि गरियो । बुटवलको गर्मीमा मजदुरी गर्ने उनी एक्कासी बिरामी परे । क्लिनिकमा उपचार पछि चौराहा हस्पिटल ल्याउँदा होस् गुमाएको अवस्थामा थिए । अस्पतालमा ल्याई पुर्याउँदा उनलाई १०८ ड्रिग्रि ज्वरो र अचेत अवस्थामा रहेको उपचार संलग्न चौराहा अस्पतालका वरिष्ठ फिजिसियन सरोज थापाले बताए ।

शुक्रबार बुटवलको अर्को अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण रुपन्देहीमा २ जना मानिसको मृत्यु भएको हो । चिकित्सकका अनुसार रुपन्देहीमा बढेको गर्मी र तातो हावाले हिट स्ट्रोकका कारण मृत्यु भएको दाबी गरेका छन् । ‘चर्को घाम र तातो हावाको प्रभाव देखिएको छ’— चौराहा हस्पिटल प्रालिका वरिष्ठ फिजिसियन डा सरोज थापाले भने । गर्मी मौसममा डिहाइड्रेसनको समस्या सामान्य हुन्छ । वास्तवमा गर्मीको मौसममा शरीरमा रहेको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ र शरीरको तापक्रम सामान्य राख्न पानी आवश्यक हुन्छ । यस्तो अवस्थामा पानी कम पिउँदा डिहाइड्रेसन हुने खतरा बढ्छ ।

अत्यधिक डिहाइड्रेसन वा गर्मी स्ट्रोकका कारण पनि व्यक्तिको मृत्यु हुने उनले बताए । अत्याधिक गर्मीका कारण मानिसको दिमागको माथिल्लो भाग (हाइपोथेरोमस) ले बाहिरी तापक्रम नियन्त्रण गर्न नसक्ने अवस्थाका उपचारमा आएका बिरामीको मृत्यु भएको चिकित्सक बताउँछन् । सामान्यतया मानिसमा टाउको दुख्ने, रिगटा लाग्ने, छाला सुख्खापन हुने र पिसाब कम हुने जस्ता लक्षणहरु देखिन्छ । विशेष वृद्धवृद्धा र बालबालिकाहरु चर्को घामबाट बच्नुपर्ने उनको सुझाव छ । गर्मीमा बिजुली बत्ती निरन्तर जाने र शरीरमा पानीको मात्रा कम हुने गरी डिहाईड्रेसन भएर मानिसको मृत्युसम्म हुने उनको दाबी छ । ‘अहिले पानी धेरै पिउने, चर्को घामबाट बच्नुपर्छ’ उनले भने । तापक्रम कम नहुँदासम्म घरभित्र बस्ने, विद्यालयहरु बन्द गर्ने, संघसंस्थाहरु केही समयलाई बन्द गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

डिहाइड्रेशनको स्तर बढेपछि व्यक्तिलाई अचानक चक्कर लाग्ने, आँखा अगाडि अँध्यारो हुने वा कडा टाउको दुख्ने समस्या सुरु हुन्छ । यस्तो अवस्थामा त्यस व्यक्तिलाई पानीको सट्टा कागती पानी, नरिवलको पानी पिउनुपर्ने हुन्छ । मस्तिष्क तरल झिल्लीमा घेरिएको हुन्छ जसले खोपडीलाई चिसो राख्न मद्दत गर्दछ । यदि यो झिल्लीमा पानीको कमीले तरल पदार्थको मात्रा कम भयो भने टाउको दुख्ने समस्या सुरु हुन्छ । यसैगरी लगातार आठ घण्टासम्म पिसाब नभएको अवस्थामा यो डिहाइड्रेसनको संकेत हुन सक्ने चिकित्सक बताउँछन् । यो खबर स्वस्तिक श्रेष्ठले बुटवल टुडेमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?