बिहिबार, भदौ २६, २०८२

स्याङ्जामा आफ्नै श्रीमतीको हत्या पछि श्रीमानले पनि गरे आत्महत्या

स्याङजा । स्याङ्जाको चापाकोटमा ५५ वर्षीय देवबहादुर विकले श्रीमतीको हत्या पछि आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरेको र त्यसपछि रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

श्रीमान विकले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

 

साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुन्डिए रहेको देखेपछि उनले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवले बताए ।

यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र सोमबार साँझ खाना खाएपछि राति कुन समयमा उक्त घटना भयो भन्नेबारे यकिन नभएको प्रहरी निरिक्षक यादवले बताए ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोस्टमार्टमका लागि चापाकोट अस्पताल ल्याएको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?