
जुमान सिंह केसी
मंसिर २७, प्युठान
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ को लागि जिल्लामा सङ्कलन गरिएको घटनाहरुको वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० मङ्सिर २७ गते सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । वर्ष पुस्तकको लागि सङ्कलन गरिएको घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले इन्सेकले वार्षिक रुपमा प्रकाशन गर्ने पुस्तक राज्यको सम्पत्ति भएको बताउनुभयो । उहाँले उक्त पुस्तक राज्यलाई सेकेण्डरी तथ्याङ्कको रुपमा रहने भएपनि इन्सेकका लागि प्रारम्भिक तथ्याङ्क भएको बताउनुभयो । उहाँले जिल्लाको तथ्याङ्कलाई आधिकारीक बनाउन सवै सरोकारवालाको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाले प्रहरी कार्यालयमा दर्ता भएका मुद्धाहरुको बारेमा जानकारी गराउँदै निष्पक्ष रुपमा प्रहरीले काम गर्दै आएको बताउनुभयो । उहाँले तथ्याङ्कहरुको विवरणलाई एकरुपता दिनका लागि समन्वय गर्न तयार रहेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघका सचिव जुमान सिंह केसीले सरोकारवाला निकायले मानव अधिकार रक्षाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको अवस्थाको बारेमा नियमित छलफल र अन्र्तक्रिया हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले बाल अधिकार सम्वन्धी १, महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव, दुव्यवहार सम्वन्धि बलात्कार ५, घरेलु हिंसा ३१ र नागरिक अधिकार सम्वन्धि हत्याको ३ वटा घटना प्रस्तुत गर्नुभएको थियो ।