जल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना अहिलेको अवस्थामा टरेको जनाएको छ।

यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा धेरै पानी पर्ने घोषणा विभागले गरेको थियो।

तर अहिले कम्तीमा एक महिनाको पूर्वानुमान हेर्दा देशका अधिकांश भागमा पानी पर्ने सम्भावना नदेखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताएकी हुन्।

मौसमको यो पूर्वानुमान अनुसार हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने विज्ञहरू बताउँछन्।

दुई साताभन्दा अघि जल तथा मौसम विज्ञान विभागले यो जाडोयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो।

विभागले हिउँदको तीन महिना मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको थियो।

त्यसबाहेक देशका अधिकांश ठाउँमा पानी पर्ने बताए पनि अहिले भने त्यो भन्दा फरक स्थिति देखिएको वरिष्ठ मौसमविद् पोखरेल बताउँछिन्।

“अहिले तत्कालको अवस्था हेर्ने हो भने पश्चिमका केही भूभागमा हल्का वर्षा भएको जस्तो देखिएको छ नभए त्यस्तो (वर्षा) हुने देखिएको छैन,” उनले भनिन्।

“र, अहिले हेर्दा अबपछिको अवस्थामा पनि कम्तीमा एक महिना चाहिँ पानी पर्ने देखिएको छैन।”

अनुमान गरिएभन्दा किन उल्टो मौसमको अवस्था?

घाम ताप्दै परीक्षा दिँदै

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,चिसो बढेसँगै हुम्लाको सिमकोट गाउँपालिका–८ साँतागाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी घाममा बसेर परीक्षा दिँदै

जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमानका लागि जलवायुलाई असर गर्ने विभिन्न प्यारामिटर हेरेर मौसम पूर्वानुमान गरिने र त्यो कहिलेकाहीँ फरक पर्ने बताएको छ।

विभागले पानी पर्छ भनेर गरेको पूर्वानुमान दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा गरिएको उनले बताइन्।

“एउटा देशको मात्रै नभई क्षेत्रीय रूपमै पूर्वानुमान गरिने भए पनि त्यसमा अझै अनिश्चितता देखिने गरेको र त्यसलाई निश्चित गर्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ,” पोखरेलले भनिन्।

“क्षेत्रीय सङ्गठनबाट सहमति लिएर पूर्वानुमान गरिएको हो तर अझै मोडलहरू थप परीक्षण गर्नुपर्ने देखियो र थप प्यारामिटरहरू पनि हेर्नुपर्ने देखिएको छ। मौसमलाई एउटै कुराले मात्रै असर गर्ने हुँदैन अरू कुरालाई पनि हेर्नुपर्ने देखियो।”

यो हिउँदमा चिसोको अवस्था कस्तो रहन्छ?

केही दिनदेखि चिसो सिरोटोसहितको शीतलहरले जनजीवन प्रभावित छ

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,सुनसरीको इनरुवा–४ मा मङ्गलवार घुर (आगो) ताप्दै स्थानीय बासिन्दा

हिउँदमा पानी नपर्नुको अर्थ यसपालि हिउँदमा चिसो कम हुने विभागले जनाएको छ।

“सरदरभन्दा अधिकतम तापक्रम कम हुने नै देखिन्छ। त्यस्तो माइनसमै जाने भन्ने सम्भावना त धेरै नै कम देखिन्छ,” पोखरेलले भनिन्।

तर कुनै वर्ष भने मध्य पुष महिनामा दिन सफा हुने र हिउँदको पछिल्लो समयमा पानी पर्ने गरेकोले चिसो बढेको विगतको अनुभव रहेको विभागको भनाइ छ।

“रेकर्ड तोड्ने खालको चिसो हुन्छ कि हुँदैन चाहिँ हेर्नैपर्छ तर सम्भावना चाहिँ अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने नै देखिन्छ। त्यसको अर्थ चिसो त्यति बढ्दैन।”

अघिल्लो वर्षको हिउँदलाई ३० वर्षयताकै कम पानी परेको हिउँद भनिएको थियो।

पूर्वानुमान अनुसार अहिलेसम्म पानी नपरेकाले यो वर्षको हिउँद पनि त्यस्तै रेकर्ड राख्ने खालको हुने हो कि?

त्यसको अनुमान अहिले नै गर्न गाह्रो हुने पोखरेल बताउँछिन्।

“कहिलेकाहीँ ज्यानुअरीको सुरुमा आकाश सफा भए पनि हिउँदमा पानी परेको देखिएको छ, त्यसैले अहिले नै यकिन गर्न त सकिँदैन। तर अहिलेसम्म पानी कम नै पर्ने देखिन्छ,” उनले भनिन्।

पानी नपर्दा बालीनालीलाई के असर पर्छ?

पोखरा लेखनाथको जरुवाफाँटमा स्थानीय बासिन्दाले गरेको तोरी खेती

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,हिउँदमा पानी नपरे त्यसले गहुँलगायत तोरी खेतीलाई पनि असर पुर्‍याउने विज्ञहरू बताउँछन्

विशेषगरी पानी नपर्दा गहुँ, तोरीलगायत हिउँदमै लगाइने बालीलाई असर गर्ने विज्ञहरू बताउँछन्।

कृषि विभागका महानिर्देशक हरिबहादुर केसीका अनुसार अहिलेसम्मको अवस्थामा बालीलाई त्यति असर गरिनसकेको भए पनि हिउँद सुक्खा भए उत्पादनमा कमी आउनेछ।

“सिँचाइ नभएको र आकाशे पानीको भरमा हुने बाली जस्तै गहुँ, तोरी अनि तराईमा मुसुरोलगायतका बालीमा प्रभाव पार्छ,” उनले भने।

“अहिलेसम्मको अवस्था ठिकै छ तर हिउँदभरि नै पानी परेन भने चाहिँ यी बालीको उत्पादनमा कमी आउने देखिन्छ।”

अनुमान अनुसार हिउँदमा पानी नपरे त्यसले वर्षे बाली जस्तै मकै वा धानको बिउ राख्ने तयारीलाई असर पार्ने केसी बताउँछन्।

हिमाली भेगमा भने यस वर्ष सुरुमै हिउँ परेकाले अहिलेसम्मको अवस्था हेर्दा स्याउको उत्पादनमा समस्या नदेखिएको महानिर्देशक केसी बताउँछन्।

“कहिलेकाहीँ हिउँ पर्न नै फागुन/चैत लाग्ने भएकोले असर गर्थ्यो तर यसपटक मङ्सिर/पुषको समयमै हिउँ परेकाले हिमाली भेगमा राम्रै भएको छ,” उनले भने।

हिउँदमा पानी नपरे बालीबाहेक पानीको मुहान सुक्नेलगायत प्रदूषण बढ्नेजस्ता असर पनि पर्ने विज्ञहरू बताउँछन्। बिबिसी नेपाली बाट