
काठमाडौँ —नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अनिशा श्रेष्ठ र २ वर्षीया सिवाना श्रेष्ठ डेरामै मृत भेटिएका हुन।
प्रेमकुमारीका पति ३७ वर्षका राजु भनिने काजी विश्वकर्मा (घिमिरे) भने डेराबाट केही पर ह्वाइट गुम्बाको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार अनुसन्धानमा दूधकुण्ड–६, सोलुखुम्बुका काजी विश्वकर्माले आफ्नो श्रीमती, छोरी र नातिनी (छोराको छोरी) को हत्या गरी आत्महत्या गरेको देखिएको छ । काजी मृतक ईश्वरीका दोस्रो श्रीमान् हुन् भने अनिशा उनीहरूकै छोरी हुन् । दुई वर्षकी नातिनी भने ईश्वरीको पहिलो श्रीमान्बाट जन्मिएका छोराकी छोरी हुन् ।
एसएसपी खत्रीका अनुसार पारिवारिक कलहले घटना भएको देखिन्छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार हत्याको समयमा सँगै बस्ने नाबालक छोरा र सिवानाकी आमा (बुहारी) बाहिर थिए । ईश्वरीका छोरा कामका लागि खाडी छन् । उनका अनुसार काजीले मर्नुअघि ससुरा र सालीलाई फोन गरेर आफूले हत्या गरेको र आफू पनि मर्न जान लागेको बताएका थिए । ‘काजी विश्वकर्माले मृत भेटिनुअघि आफ्नी सालीसँग फोनमा कुरा गरेका रहेछन् । सालीको फोनमा सो कुराकानी रेकर्डसमेत भएको रहेछ,’ उनले भनिन्, ‘त्यसबाट पनि काजीले तीन जनाको हत्या गरी आफूले आत्महत्या गरेको जस्तो देखिन्छ ।’
डीएसपी चन्दका अनुसार अन्दाजी १४–१५ वर्षको छोराको मोबाइलमा पनि काजीले आफूले हत्या गरेको व्यहोराको भिडियो भेटिएको छ । ‘नाबालक छोराका साथमा रहेको मोबाइलमा पनि भिडियो भेटिएको छ । सो भिडियो छोरा आफैंले खिचेको बताएका छन्,’ उनले भनिन्, ‘त्यसबारे पनि अनुसन्धान गरिरहेका छौं ।’ उनले भिडियोमा बुहारीले
आफ्नी सासूको सम्बन्धबारे थाहा हुँदाहुँदै पनि केही नबताएका कारण अप्रिय घटना हुने स्थिति आएको बताउँदै आफ्नो नाबालक छोरालाई दुःख नदिन पनि आग्रह गरेका छन् ।
‘भिडियोमा उनले विक्षिप्त हुँदै घटना आफूले घटाएको स्वीकार गरेका छन् । त्यसमा उल्लेख भएका विवरणहरूबारे पनि अनुसन्धान गर्दै छौं,’ स्रोतले भन्यो, ‘घरबेटी र नजिकका नातेदारसँग बुझ्दा यसअघि कुनै ठूलो कलह नभएको बताइरहेका छन् । भिडियोमा उनले भनेको कुरा मान्ने हो भने हिजै राति पनि कलह भएको जस्तो देखिन्छ ।’ घटनास्थलमै रहेका घरबेटी बद्री बजगाईंले भने आफूहरूले यसअघि र हिजो बेलुका पनि श्रीमान्–श्रीमतीबीच भएको वादविवादबारे केही थाहै नपाएको दाबी गरेका छन् । ‘झगडा गर्ने परिवार भए त किन डेरामा राखिन्थ्यो र ? भाडा पनि समयमै दिन्थे । बरु अगाडि नै दिन्थे । त्यस्तो नराम्रो केही थियो जस्तो लागेको थिएन,’ उनले भने ।
उनले घटनाको समयमा आफू सोही घरको माथि भए पनि केही थाहा नपाएको बताएका छन् । यस्तै, घटनास्थलबाट केही पर खाजा–नास्ता पसल चलाएका ईश्वरीका बुबा इन्द्रजित श्रेष्ठका अनुसार मंगलबार साँझ काजी र ईश्वरीले उनको पसलमा चाउमिन खाएर सँगै घर गएका थिए । ‘घर बनाउने काम गर्थ्यो । बाहिर जथाभावी नगर्ने सिधा मान्छे थियो,’ उनले भने, ‘बिहान सवा सात, साढे सात बजे त सबैलाई मारिसकें भनेर फोन गर्यो । के हो भनेर हेर्न आउँदा त साँच्चै मारिसकेछ ।’
काजीले श्रीमती, छोरी र नातिनी मारेको भन्दै फोन गरेर ‘के गर्ने हो गर’ भनेपछि आफूले प्रहरीलाई खबर गरेर छिमेकीहरूलाई लिएर आउँदा कोठामा बाहिरबाट ताल्चा लगाइएको इन्द्रजितले बताए । ‘म आउँदा बाहिरबाट ताल्चा लगाएको थियो । प्रहरी आएर खोलेर हेर्दा सबै जना मरिसकेका रहेछन्,’ उनले भने, ‘किला निकाल्ने ह्याम्मर र कैंचीले हिर्काएर मारेको रहेछ ।’ घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अगाडि बढाएको छ ।काम्तिपुर वाट