
जुमान सिंह के.सी.
प्यूठान । गौमुखी गाउँपालिका–५ सालिविसौनामा हेलिप्याड निर्माण भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक सहयोग तथा श्री बर्द बहादुर गण प्यूठानको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो ।
नव निर्मित हेलिप्याडको विहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपाली सेना १९ नम्बर बाहिनीपति सहायक रथी भुवनपूर्ण सत्यालले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन पश्चात उहाँले गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी मार्फत गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी सहायक रथी सत्यालले नेपाली सेनाले सैनिक नागरिक सम्बन प्रगाढ बनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले जिल्लामा बर्द बहादुर गणले गरेका सामाजिक अभियानमा गरेको सहयोग तथा सहकार्यको प्रशंसा गर्दै सैनिक नागरिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा श्री बर्द बहादुर गण प्यूठानका गणपति प्रमुख सेनानी रमेश थापाले छोटो समयमा हेलिप्याड निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले विपदका घटनामा राहत तथा उद्धार गर्न, जटिल समस्या भएका विरामीलाई हवाई सेवाबाट उपचारका लागि प्रेसित गर्न, विशिष्ट व्यक्तिहरुको आगमनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
उहाँले सेनाकै लगानीमा नौबहिनी गाउँपालिकाको स्याउलिवाङमा हेलिप्याड निर्माण भएको जानकारी गराउनुभयो ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले हेलिप्याडको दैनिक प्रयोग नभएपनि दिर्घकालिन रुपमा महत्व राख्ने बताउनुभयो । हेलिप्याड निर्माणको लागि । श्री बर्द बहादुर गणसँग ठाउँ छनौट, बजेट व्यवस्थापन र निर्माणका लागि महत्वपूर्ण सहकार्य भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले हेलिप्याडको दिगो प्रयोगका लागि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले निर्माण भएको संरचनाको संरक्षणका विशेष ध्यान दिन गाउँ पालिकालाई आग्रह गनुृभएको छ ।
गाउँपालिका संग सहकार्य गरि हेलिप्याड निर्माणकार्यमा प्राविधिक सहयोग सहित आवस्यक कार्यमा महत्त्वपूर्ण भुमिका रहेको भन्दै गाउँपाइकाले श्री बर्द बहादुर गणलाई प्रसंशापत्र पर्दान गरेको छ।
पाँच जना जग्गादातालाई सम्मान
हेलिप्याड निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानीय पाँच जना जग्गादातालाई सम्मान गरिएको छ । गौमुखी गाउँपालिकाले स्थानीय पदम पुरी, बसन्त पुरी, गोपाल पुरी, सिता पुरी र ज्ञान बहादुर जिसीलाई सम्मान गरेको हो ।