
काठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको आयोजनामा पत्रकारहरूका बीच ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन गरेको छ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संघीय कार्यालय भृकुटी मण्डपमा पत्रकारहरूबीच दिवसको महत्व र सप्ताहव्यापी कार्यक्रमको जानकारी गराएको हो।
महासंघले मङ्सिर ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिने कार्यक्रमको जानकारी गराएको छ।३ डिसेम्बर अर्थात् मङ्सिर १७ गते हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अन्य विभिन्न सरोकारवाला निकायहरूको समन्वय सहकार्यमा दिवस मनाउन लागिएको महासंघका अध्यक्ष देवीदत्त आचार्यले बताउनुभयो।
उहाँले पत्रकार सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि परिवार तथा समाज र विभिन्न निकायबाट अपहेलित हुनुपरेको अवस्था रहेको भन्दै उनीहरूको हित र विकासको लागि सबै पक्षको सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो।
अपाङ्गता समावेशी समाजको प्रवधन: सामाजिक उन्नतिको सम्बर्धन भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको उहाको भनाइ छ।महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा महासन्धि सन्धि नेपालको संविधान,अपाङ्गता अधिकार ऐन २०७४ लगायतका विभिन्न नीति कार्यविधि भएको भए पनि यसको सहि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरूले समस्या झेल्दै आउनुपरेको बताउनुभयो। बनेका नीति नियमहरुलाई सही ढंगले व्यावहारिक कार्यान्वयन गर्न सके मात्र अपाङ्गता अधिकार स्थापित हुने भन्दै सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो।
पत्रकारहरूको जिज्ञासामा उहाँले भन्नुभयो अझै पनि अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सेवा प्रवाहमा समस्या छ। उनीहरुले पाउनपर्ने सेवा सुविधाहरु सहज रुपमा पाउन सकेका छैनन्। विभिन्न खालका हिंसाहरु विभेदहरु यौनजन्य हिंसा बलात्कार जस्ता अपराधका सवालमा उनीहरूले न्यायमा पहुँच पुग्न सकेको अवस्था समेत नरहेको बताउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार, स्वरोजगार सहभागी गराउने, हरेक संरचनाहरू अपाङ्गता मैत्री बनाउने ,अपाङ्गता परिचयपत्रलाई सहज र व्यवस्थित गराउनु पर्ने बताउनु भयो।
संघीय तहमा रत्नपार्क बाअत र्याली सहित भिर्कुटी मण्डपमा पुगेर औपचारिक कार्यक्रम तय भएको संघीय महासचीव सुगम भट्टराईले बताउनु भयो। उहाँले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको समेत बताउनुभयो।











