
प्रदिप जिसि
पछिल्लो समय मृगौला रोगिहरुको सङ्ख्या अत्यधिक बढिरहेका छन । मृगौलाको डायलासिसको लागि महिनौं कुरेर,विभिन्न ठाउमा भौतारिएर , ठुलाबडालाइ फोन लगाएर, हारगुहार गरेर बल्लतल्ल आफ्नो पालो पर्दछ , एकातर्फ रोगको सिकार भएकाले शारीरिक , मानसिक र आर्थिक रुपले बिझिप्त भएको अवस्था त्यसै माथी दुरदराजबाट महँगो शहरमा गएर डायलासिस गर्दा धेरै कठिनाइ भैरहेको पिडितहरुको गुनासो छ , सरकारले विपन्न नागरिकहरूको लागि डायलाइसिस सेवा निशुल्क गरेको छ तर अस्पतालबाट टाढा घर भएकाहरूलाई त्यही सेवा लिन धेरै सास्ती बेहोर्नु परेको छ।बल्लतल्ल डायलाइसिसको पालो पाएर निशुल्क सेवा लिए पनि टाढा अस्पताल हुँदा घन्टौं यात्रा अनि महँगो यातायात खर्च गरेर जानुपर्ने बाध्यता छ। कतिपय बिरामीहरू अस्पताल नजिकै डेरामा बसेर डायलाइसिस गराइरहेका छन् जसले गर्दा उपचार धेरै खर्चिलो हुने गरेको छ ! नेताहरूको चुनावी नारा धेरै मिठा र चिल्ला भएपनी व्यवहार भने धेरै खस्रो हुँदै आएको छ । खोला,बाटो,भवन आदिमा बजेट पार्न तछाड्मछाड हुन्छ तर जनताको प्रत्यक्ष सरोकार रहेको स्वास्थ्योपचार र जिउधनको रक्षाका लागि भने सबै मुखदर्शक बनिरहेका छन् । सामान्य कर्मचारी आउँदा जादा ठुलो राजनीतिक खिचातानी ब्यहोरिरहेको जिल्ला अस्पताल प्युठानले मृगौला रोगिहरुका लागि डायलासिस सेवा कहिले सुरु गर्ला ? यो विषय ज्यादै पेचिलो बन्दै गइरहेको छ ! प्रत्यक स्थानिय तहमा अस्पताल सन्चालनका लागि करोडौंका भवन बनिरहेका छन तर जिल्ला अस्पतालबाट दिइने सेवाप्रबाह भने अझै पुर्ण र जनमैत्री हुन सकिरहेको छैन । नेपालको संविधानले स्वास्थलाई मौलिक अधिकार भित्र राखेपनी गरिब र बिपन्न ब्यक्तिले अधिकारको उपयोग गर्न पाएका छैनन् भने यसतर्फ कसैको ध्यान गएको देखिदैन ! प्युठान जिल्लामा पछिल्लो समय सयौंको संख्यामा मृगौला रोगबाट पिडित बिरामीहरु रहेको र हाल बुटवल , काठमाडौ , दाङ , चितवन लगायतका जिल्लामा गएर महँगो कोठा भाडामा लिएर उपचार गराइरहेको हामीले देखिरहेका छौँ , धेरै बिरामी र उहाका आफन्तहरुले उपचार धेरै खर्चिलो र निरन्तर औषधि सेवन अनि डायलासिस गरिरहनुपर्ने हुँदा आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरिरहनुभएको छ । कतिपय बिरामीको उपचारको लागि आर्थिक सहयोग अभियान चलाएका थियौ र अहिले पनि जारी छ तर यो कार्य सधै सबैका लागि सहज अनि दिगो होइन र हुदैन तसर्थ आफ्नै जिल्लामा यस्ता जटिल र दिर्घरोगको उपचार सेवा उपलब्ध गराउनका लागि केन्द्र , प्रदेश , स्थानीय सरकार ,सबै जनप्रतिनिधि , राजनीतिक दल, संघसस्था , सरोकारवाला तथा आम जनसमुदायको सामुहिक एकता र सहयोग अनिवार्य छ । यदि सरकार र जनप्रतिनिधिले प्युठानमा डायलासिस सेवा सुचारुका लागि पहलकदमी लिन चुकेको खण्डमा सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्ति तथा संघसस्थाहरु लागेर भएपनि डायलासिस सेवा सुचारू गर्नतर्फ हामी अग्रसर हुनेछौं ।