सोमवार, भदौ २३, २०८२

झपामा पर्ने बालुवाटारको ३० बिघा जग्गा व्यक्तिको नाममा बनाउने १७२ जनाइ अख्तियारले मुद्दा दायर गर्यो

झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।

दमक नगरपालिका–१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा व्यक्तिका नाममा सारिएको अख्तियारको दाबी छ ।

रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको कित्ता नम्बर ७६०/१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र दमक ५ ‘ख’बीचको मार्जिनका जग्गाहरू २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्तास्रेस्ताबाट देखिएको अख्तियारको दाबी छ ।

ती जग्गाका कित्ताहरू नापी कार्यालय, चन्द्रगढी, मालपोत कार्यालय, दमक, र नापी कार्यालय, दमकबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूका जग्गामा घुसाई हालसाविकबाट जग्गा दर्ता गरी व्यक्तिका नाममा गरिएको अख्तियारको दाबी छ ।

अख्तियारले ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ ६५ पैसा बिगोसहित दोषीमाथि कारबाही र जग्गा जफतको मागदाबी गरेको छ ।

झापाको बालुवाटारकाण्डमा सार्वजनिक पद धारण गरेका मध्ये नापी कार्यालय, चन्द्रगढीका १० कर्मचारी, मालपोत कार्यालय, दमकका ११ र नापी कार्यालय, दमकका सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, सार्वजनिक जग्गा गैरकानुनी हालसाविकमार्फत आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ३६ जनालाई विपक्षी बनाइएको छ । बिगो असुलउपर र जग्गा जफत प्रयोजनका निम्ति १०८ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले १७२ विरुद्ध मुद्दा दायर गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?