
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा–६ घर भई सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेलीको कुटपिटगरी हत्या गरिएको हो ।
मंगलबार राति उनी आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।
अनुसन्धानका क्रममा सोही वडामा २९ वर्षका प्रभुनाथ थारूले रिसइबी साँधेर कुटपिट गरी हत्या गरेको खुल्न आएको उनले बताए । पक्राउ परेका थारूको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए ।
वृद्धाले होच्याएर बोलाउने गरेको रिसइबीमा थारूले हत्या गरेको अनुसन्धानबाट खुलेको भट्टले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका थारूलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।