
प्यूठान । मल्लरानी गाउँपालिकाले चालु अर्थिक वर्ष २०८०÷०८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम चुजामा सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्वर १ चुँजामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवाल र लेखा अधिकृत कमानसिंह के.सी.ले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, वडा अध्यक्ष चिन्त बहादुर राहुँमगरले सहभागीबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले खानेपानी समस्या र मोटरबाटो मुख्य समस्याको रुपमा उठाएका थिए त्यस्तै लक्ष्यित बर्गका कार्यक्रमहरु वडा तहमा पुग्न नसकेको समेत उल्लेख गरेका थिए ।
उनीहरुले जनप्रतिनिधिले चुनाबमा दिएको आश्वासन अझै पनि कार्यान्वयन नभएको भन्दै गुनासो समेत गरेका थिए ।
कार्यक्रममा प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले जनताको समस्या, गुनासा सुन्न र बुझ्नका लागि पालिकाले चौमासिक रुपमा गर्ने सार्वजनिक सुनुवाई वडातहमा गर्ने गरेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले पालिकाका धेरै जसो भुगोलमा खानेपानीको समस्या विद्यमान रहेको भन्दै पालिकाले क्रमशः समाधान गर्दै जाने पालिकाको योजना रहेको बताउनुभयो । उहाँले खानेपानीको मुहान अभाव रहेको भन्दै नयाँ मुहान भएको ठाउँमा योजना बनाउन पालिका तयार रहेको समेत बताउनुभयो ।
पालिकाले गाउँपालिकाभित्र सञ्चालित लिफ्ट खानेपानीको विद्युत महशुल आधा व्यहोर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर २ का वडा अध्यक्ष लेख बहादुर थापा, वडा नम्वर ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा, कार्यपालिका सदस्य, जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख र स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
सुनुवाइ कार्यक्रममा मल्लरानी मिडिया प्रालिका सञ्चालक सुजल श्रेष्ठले बर्हिगमन अभिमत पत्र र नागरिक प्रतिवेदन पत्रबाट प्राप्त सवालहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार बिजयसिंह भारतीले गर्नुभएको थियो ।