मङ्लबार, जेष्ठ ८, २०८१

इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७हजार ७ सय ७२मत सहित विजयी भएका हुन्।

इलाम नगरपालिकाको ११ वटै वडाको मत गणना सकिएसँगै उनी विजयी बनेका हुन्।

सदरमुकाम इलाम बजारस्थित सिटी हलमा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।

एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो। बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्।

सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।

बुवा सुवाससँगकै सल्लाहमा उनले फुटबल क्लब पनि किनेका थिए। व्यवसायमा जम्दै गरेका सुहाङ अब प्रतिनिधिसभा सांसद बनेर संघीय संसद् छिर्ने भएका हुन्।

उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिंगो इलामेलीको जितको रुपमा लिएको बताए।

४२ वटा वडामा पुगेर मतदातासँग कुरा गर्दा पटक पटक बुवालाई सम्झिएका सुहाङले जितपछि  कुराकानी गर्दै भनेका छन्, ‘बुवाले जसरी इलामेली जनताको मनमा बसेर काम गर्नुभयो, म त्यसलाई कम हुन दिन्नँ।’

साथै, उनले यसलाई बुवा र आफ्नो मात्रै भन्दा पनि सबै इलामेली जनताको विरासतको रुपमा व्याख्या गरे। ‘यो बुवाको मात्रै विरासत होइन, एमालेको मात्रै पनि होइन, यो त सिंगो इलामेली जनताको विरासत हो,’ सुहाङले भने। नेपाल खबर बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?