मङ्लबार, असार १२, २०८१

२५८६औं बुद्ध जयन्ती पर्व गौतम बुद्धको स्मरण गरी मनाइँदै

२५८६औं बुद्ध जयन्ती पर्व यस वर्ष वैशाख शुक्लपूर्णिमाका दिन जेठ १० गते नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमका साथ भगवान्को रूपमा पुजिएका नेपाली सपुत गौतम बुद्धको स्मरण गरी मनाइँदैछ । नेपालको प्राचीन कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उनको समयपश्चात् उनले दिएका ज्ञानका कुराहरूलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो ।

उनी जीवित छँदै आफूलाई भगवान् नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाएका बुद्धले उनी संसारबाट बिदा भएपछि भने भगवान् भनी पुजिन थाले । हिन्दु धर्मले समेत बुद्ध अवतार भनी विष्णुको एक अवतारको रूपमा स्वीकार गरेको छ भने उनको दर्शनबाट प्रभावितहरूले त बुद्ध धर्म नै मानिरहेका छन् ।

बुद्ध आफैंले संसारमा कुनै भगवान् नै छैनन् र भगवान्का नाममा गरिने अनेक कार्यहरू वाहियात् हुन् भन्ने गर्दथे र उनी कर्ममा मात्र विश्वास गर्दथे । उनका उपदेश र सिद्धान्तमा यस्तै विचार पाइने हुँदा उनलाई नास्तिक दर्शनका व्याख्याता मानिन्छ तर हाल उनी आफैं एक भगवान्का रूपमा पूजनीय छन् ।

यसका लागि उनले गरेका काम, उनले दिएका उपदेश र संसारलाई देखाएको उज्यालोका कारण लाइट अफ एशियाका नामले तथा भगवान् गौतम बुद्धका नामले उनलाई चिनिन्छ । यस आलेखमा बुद्धले प्रतिपादन गरेका सिद्धान्तमा के छ र उनको जीवनी कस्तो थियो भन्नेबारेमा समेत उल्लेख गरिएको छ । आशा छ, विभिन्न अध्ययन अनुसन्धानकर्ता, बौद्ध धर्म र बौद्ध दर्शनसँग सम्बन्धित पाठकहरूलाई यसबाट पक्कै फाइदा पुग्ने नै छ ।

पूर्वीय दर्शनका अनुसार हिन्दु र चार्बाक दर्शनको बीचबाट अघि बढ्न खोजेको बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट प्रादुर्भाव भएको हो । तत्कालीन समयमा व्याप्त अन्धविश्वास तथा रुढीहरूको विरोधमा यो दर्शन आएको थियो ।

विशेषगरी त्यसबेला कर्मकाण्डमा हिंसाको बीभत्स तान्त्रिक साधनको नामले नरबलि दिने र पुरोहितको अहङ्कारको बीचमा गौतम बुद्धको अहिंसा, विनय, दया र करुणामा आधारित सिद्धान्त जनताका लागि अमृत बराबर भएको थियो । ई.पू. ५६३ मा (आधिकारिक जन्ममिति) लुम्बिनीमा जन्मेका २४औं पुस्ताका शाक्यमुनि बुद्ध वा राजकुमार सिद्धार्थ २९ वर्षको उमेरमा दरबार परित्याग गरी (महाभिनिष्क्रमण) बाहिर निस्केर करीब ६ वर्षको तपस्या पछि ३५ वर्षको उमेरमा बोधिज्ञान (चार वटा ज्ञान– पूर्वानुस्मृति, दिव्यचक्षु ज्ञान, प्रतीत्यसमुत्पादक र सर्वज्ञाता) प्राप्त गरेपछि बुद्ध बने र बुद्ध दर्शनको रूपमा उनका उपदेशहरू आएका हुन् ।

वृद्ध, रोगी, संन्यासी र मृत्यु भएका मानिस देखेर (चतुरनिमित्त) दुखित भई दुःखबाट मुक्त हुन तपस्या गर्ने क्रममा गौतम बुद्धले ज्ञानको खोजी गरे । यस दर्शनले चार आर्य सत्य र ८ मार्गहरूको साधना गर्नाले अज्ञानता नष्ट भई पूर्ण शान्ति (निर्वाण) प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दै ८ मार्गको अनुसरण गर्न निर्देश (देशना) गर्दछ ।

बुद्धको निजी जीवन

बुद्ध मायादेवीका कोखबाट जन्मेका हुन् । विभिन्न ग्रन्थहरूमा बुद्ध जङ्गलमा जन्मेको कुरा चर्चामा आएको छ । पहिलो सन्तान मामाघरमा जन्माउनुपर्छ भन्ने तत्कालीन मान्यता अनुसार मायादेवी माइत जाने क्रममा बाटोमा नै सुत्केरी व्यथा लाग्दा लुम्बिनीको बगैंचामा बुद्ध जन्मिएका हुन् भन्ने किंवदन्ती पाइन्छ । बुद्ध जन्मेको ७ दिनपछि नै आमा मायादेवीको मृत्यु भएको थियो । असिद नामक संन्यासीले यो बालक भविष्यमा संन्यासी (बुद्ध) बन्छ र बुद्ध नबनेमा चक्रवर्ती राजा हुन्छ भनेर भविष्यवाणी गरेका थिए । यस्तो भविष्यवाणी भएपछि बुद्धका पिता राजा शुद्धोदनले छोरो संन्यासी हुनसक्छ भनेर डराई सम्पूर्ण राजसी व्यवस्था दरबारभित्रै मिलाएका थिए । उनलाई बढी मनोरञ्जन र विलासिताको जीवन बिताउन लगाएका थिए, ताकि कहिल्यै पनि बुद्धको विचार संन्यासीतर्फ नजाओस् भनेर सबै व्यवस्था मिलाएका थिए । बुद्ध राजा नै बनोस् भनी रम्य, सुरम्य र सुरभ नामका तीनवटै ऋतुको आभास मिल्ने गरी र भोगविलासका सम्पूर्ण व्यवस्था दरबारभित्रै मिलाइएको थियो । यसैक्रममा उनको छिटो विवाह गरी पारिवारिक जिम्मेवारी प्रदान गर्ने उद्देश्यले देवदहकी राजकुमारी गोपा (उनलाई पछि यशोधरा वा भद्रकाव्यायिनी भनेर पनि चिनिन्छ) सँग १६ वर्षकै उमेरमा विवाह गराइयो ।

कुनै एकदिन बाटोमा घुम्न निस्केको बेला बुद्धले चतुरनिमित्त (४ वटा दुःख— रोगी, वृद्ध, संन्यासी र मृत) देखे । संसारमा यस्तो दुःख पनि हुँदोरहेछ भनेर उनले पहिलो पटक थाहा पाए । यो कुराले उनको मनमा अशान्ति पैदा गर्‍यो । मानिस दुःखी छ र दुःख हटाउने उपाय के होला भन्ने कुराले उनको मनमस्तिष्कमा हानिरह्यो । यही क्रममा उनी २९ वर्षका भइसकेका थिए र उनको छोराको समेत जन्म भयो । दुःखको कारण हटाउने उपाय खोजी गर्ने क्रममा आफ्नो अवरोधको रूपमा छोरा आएकोले यो ‘राहु’ हो र यसको नाम ‘राहुल’ राख्नुपर्छ भनी नामकरण गरेका थिए । जेहोस् गौतम बुद्धलाई कुनै पनि राजसी सुखसयल, सुविधा, घरपरिवार, श्रीमती, बच्चा जस्ता कुनै पनि कुराले उनको विचारलाई रोक्न सकेनन् र अन्ततः उनी २९ वर्षको उमेरमा दरबार परित्याग गरी ज्ञानको खोजीमा निस्किए ।

बुद्धको ज्ञान प्राप्तिको रोचक सन्दर्भ      

दरबार परित्याग गरेर निस्किएपछि बुद्ध आलर काराम र उद्क रामाक्रुद गुरुसँगको सम्पर्कमा गए र ६ वर्षसम्म कठोर तपस्या गरे । उनीसँगै ५ जना विद्वान् पनि तपस्यारत थिए । पछि बुद्धले खाना नखाई यसरी शरीर सुकाएर कमजोर मनमस्तिष्कले कुनै ज्ञान प्राप्त नहुने निचोड निकाली मध्यम मार्ग अपनाउने विचार गरे ।

त्यही दिन सुजाता नामक कन्याको हातबाट ४९ गाँस खीर खाए र बोधिवृक्षमुनि घाँसमा पलेंटी कसी तपस्या गरिरहेको बखत उनलाई सोही दिन ज्ञान प्राप्त भयो । खीर खाएकै दिन राति ३५ वर्षको उमेरमा ४ प्रहरमा उनलाई ४ वटा ज्ञान प्राप्त भएका थिए । ती ज्ञानहरू पूर्वानुस्मृति, दिव्यचक्षु ज्ञान, प्रतीत्यसमुत्पादक र सर्वज्ञाता ज्ञान हुन् ।

ज्ञान प्राप्त भइसकेपछि पनि बुद्ध चार सप्ताहसम्म त्यही बोधिवृक्षमा नै रहेका थिए । संयोगको रूपमा बुद्धका जीवनमा भएका कुनै पनि महत्वपूर्ण घटनाहरू (जन्म, ज्ञान प्राप्ति, निर्वाण आदि) वैशाख शुक्लपूर्णिमाका दिन नै भएका थिए ।

यसरी अद्भुत ज्ञान प्राप्त भएपछि अरूलाई यो ज्ञान कसरी दिने, ज्ञान ग्रहण गर्ने क्षमतावान् मानिस छन्/छैनन् भनी मनमा कुरा खेलिरहेको अवस्थामा उनलाई ब्रह्मादि देवताले परामर्श गरेको कुरा पनि त्रिपिटकमा पाइन्छ । यो ज्ञान कसले ग्रहण गर्न सक्ला भनी ध्यानदृष्टिले हेर्दा गुरु लगायत अन्य विद्वान्को मृत्यु भइसकेको कुरा थाहा पाएपछि ५ जना आफूसँगै तपस्यारत अन्य व्यक्तिलाई पहिलो ज्ञान दिने विचार गरे ।

ती ५ जना व्यक्ति पनि सारनाथ गएको थाहा पाएपछि हिंड्दै जाँदा बाटोमा भेटिएका तपस्वु र भल्लुक नामक दुई जना व्यापारीलाई सातु खुवाई उनीहरूलाई नै पहिलो पटक शिष्यका रूपमा ज्ञान दिएका थिए । बनारस पुगेपछि देशना (प्रथम धर्मचक्र प्रवर्धन ज्ञान) ५ जनालाई प्रतीत्यसमुत्पादक सिद्धान्तको ज्ञान दिए । जसमा ४ आर्यसत्य सम्बन्धी कुराहरू थिए । यसैगरी गयामा गई शिष्यहरू बनाए र उनको ज्ञानको प्रचार विश्वभर तीव्र रूपमा हुनथाल्यो । आफ्नो जीवनभर यसरी बुद्ध संसारभर गएको देखिन्छ ।

बौद्ध दर्शनमा के छ ?      

बौद्ध दर्शनले मुख्य प्रकाशमा ल्याएको सिद्धान्त ४ आर्यसत्य र दुःख निवारण गर्ने ८ मार्गहरू नै ज्ञानका प्रमुख सिद्धान्त हुन् । यसरी बौद्ध दर्शनमा उल्लेख गरिएका ४ आर्य सत्यहरू (चतुर आर्यसत्य) र दुःख निवारण गर्ने यी ८ मार्गहरू यसप्रकार छन् ।

१. संसारमा दुःख छ : जरामरण, शोक, विछोड आदिका कारण यस संसारमा दुःख छ र दुःखबाट कोही पनि अछुतो छैन ।

२. दुःखका कारणहरू छन् : दुःखका कारणलाई काम, भव र विभव भनी वर्गीकरण गरिएको छ । काम भन्नाले—मिठो खाने, भव भन्नाले—फेरि जन्म लिने र विभव भन्नाले—धन सम्पत्ति तृष्णाका कारण आर्जन गर्ने जस्ता कुराहरू नै दुःखका कारण हुन् । यही विभव कारणलाई नै प्रतीत्यसमुत्पादक/कार्य कारण सिद्धान्त भनिन्छ ।

३. दुःख नाश गर्न सकिन्छ : यसका लागि तृष्णालाई स्थान नै नदिएर दुःख हटाउन सकिन्छ भन्ने यस दर्शनको मूलभाव रहेको पाइन्छ ।

४. दुःख निवारण गर्ने उपायहरू छन् : अष्टाङ्ग मार्ग मार्फत दुःखलाई निवारण गर्न पनि सकिन्छ भन्नु यस दर्शनको अर्को सिद्धान्त हो ।

दुःख निवारण गर्ने ८ मार्गहरू भनी बुद्ध दर्शनमा वर्णन गरिएको छ, जुन यसप्रकार छन्–

१. सम्यक् दृष्टि, २. सम्यक् सङ्कल्प, ३. सम्यक् वचन/वाक्, ४. सम्यक् कर्म/कर्मान्त, ५. सम्यक् जीवन/आजीविका, ६. सम्यक् व्यायाम, ७. सम्यक विचार/स्मृति, ८. सम्यक समाधि ।

यो दर्शन नास्तिक हुँदाहुँदै पनि आत्माको अस्तित्व मानेको र पुनर्जन्म पनि हुन्छ भनी मानेको छ । आत्मा निरन्तर परिवर्तनशील छ र पुनर्जन्म परिवर्तनबाट हुन्छ भन्ने कुरा यस दर्शनमा पाइन्छ । यसलाई प्रतीत्यसमुत्पाद (एउटा वस्तुमा आश्रित भएर अर्को वस्तुको उत्पत्ति हुनु) पनि भनिन्छ । यस दर्शनले संसारिक बन्धनलाई भवचक्र (सांसारिक चक्र) का रूपमा व्याख्या गरेको र मुक्ति पाउनुलाई निर्वाण प्राप्ति गर्नु भन्दछ ।

बौद्ध दर्शनको आलोचना

बौद्ध दर्शन भित्र पनि विस्तारै विभिन्न खालका अन्य विचारहरू राख्ने व्यक्तिहरू देखापरे, जसले आ—आफ्ना विचारहरू प्रस्तुत गरी बौद्ध दर्शनलाई परिमार्जन गर्ने काम पनि गरे । मुख्य रूपमा निम्न ४ वटा सिद्धान्त वा दर्शनहरू बौद्ध दर्शनभित्र देखापरे । ती हुन् —

१. माध्यमिक : शून्यवाद, २. योगाचार : विज्ञानवाद, ३. सौत्रान्तिक : वाहियार्थानुवाद, ४. वैभाषिक : वाहियार्थ प्रत्यक्षवाद ।

बौद्ध दर्शनका सम्बन्धमा आएका महत्वपूर्ण केही विशेषताहरू जुन कुनै आलोचनात्मक प्रकारका पनि छन् ती यसप्रकार छन्–

१. विवादहरूप्रति उदासीनता : बुद्ध आफ्ना सिद्धान्तप्रति देखापर्ने वादविवाद भन्दा टाढै रहने, कुनै उत्तर नदिने र विवादमा फस्न नचाहने भएकोले उनलाई बुद्धिवादी थिएनन् भन्न सकिन्छ ।

२. निराशावाद : संसार दुःखमय छ र यसबाट निर्वाण प्राप्त गर्नुपर्ने कुरा भन्ने हुँदा उनको सिद्धान्त निराशावादी भएको मान्न सकिन्छ ।

३. यथार्थवाद : बुद्धले ईश्वरलाई नमान्ने र जीवनको यथार्थ उपदेश दिने हुँदा उनका सिद्धान्त यथार्थवादी छन् ।

४. व्यवहारवाद : चार आर्य सत्यमा आधारित बुद्धका उपदेशहरू व्यवहारवादी छन् ।

बौद्ध धर्म सम्बन्धी विभिन्न ग्रन्थ र साहित्यहरू प्रकाशित छन् । ती सबै बुद्धका उपदेशहरूको सङ्गालोबाट विकसित हुँदै आएका हुन् । बौद्ध दर्शनका मुख्य तीनवटा ग्रन्थहरू आधिकारिक ग्रन्थ हुन् जसलाई पिटक (पेटिका) वा त्रिपिटक पनि भनिन्छ । ती हुन्–

१. सुत्तपिटक ः बौद्ध भिक्षुहरूको पहिलो सङ्गति (सम्मेलन) बाट बुद्धको निर्माणकालमा नै बुद्धका पट्टशिक्ष आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरू रहेका छन् ।

२. विनयपिटक : उपालिको सहयोगमा तयार गरिएको यस पिटकमा आचार सम्बन्धी ग्रन्थहरू पर्दछन् ।

३. अभिधम्मपिटक : यसमा दार्शनिक विचारहरूको सङ्ग्रह रहेको छ ।

पछिल्लो समय बौद्ध धर्ममा पनि धार्मिक मतभेदका कारण दुई वटा सम्प्रदायहरू देखापरेका छन् । ती हुन्—

१. हीनयान (घेरावाद/धर्मको प्राचीन रूप) : यस सम्प्रदायको मुख्य थलो दक्षिण भारत, श्रीलङ्का, बर्मा र थाइल्याण्ड हुन् भने ती स्थानमा बुद्ध धर्मको बढी प्रभाव परेको छ । वैभाषिक र सौत्रान्तिकवाद पनि यही सम्प्रदाय अन्तर्गत पर्दछन् ।

२. महायान (प्राचीन बौद्ध धर्म भन्दा फरक, बुद्धलाई अवतार मान्ने र मिश्रित खालको विचार) : तिब्बत, चीन, कोरिया र जापानमा बौद्ध धर्मको बढी प्रभाव परेको पाइन्छ । शून्यवाद र विज्ञानवाद यस अन्तर्गत पर्दछन् ।

बौद्ध दर्शन प्राचीनकालमा निकै लोकप्रिय दर्शनका रूपमा फरक खालले आएको दर्शन हो । यस दर्शनले विश्वमा शान्तिको ज्योति छर्ने काममा निकै महत्वपूर्ण योगदान दिएको छ । सबै कुरा भगवान्ले नै बनाएको हो र उनको इच्छा विपरित केही पनि हुँदैन भन्ने त्यतिबेलाको मान्यताका बीच यो दर्शनले भगवान् नै हुँदैन र सबै कुरा कर्मले गर्दछ भन्ने फरक विचार स्थापित गर्न सक्नु यस दर्शनको मुख्य विशेषता हो ।

जति पनि पूर्वीय दर्शनहरू आएका छन्, तीमध्ये कमैले मात्र ईश्वर छैन भन्दछन् तर अधिकांश दर्शनले ईश्वरको घेराभित्रै रहेर वकालत गर्दछन् । यसरी प्राचीनकालमै आएको यो दर्शन निकै क्रान्तिकारी भएकोले यसलाई संसारका अन्य दार्शनिकहरूले पनि निकै चासोपूर्वक अध्ययन गर्ने गर्दछन् । यो नास्तिक दर्शन भएर पनि त्यस समयमा आफ्नो प्रभुत्व जमाउन सक्नु यस दर्शनको सबैभन्दा राम्रो पक्ष हो । यसरी नेपालमै जन्मिएका एक सपुतले संसारलाई नै उज्यालो बाटो देखाउने सामथ्र्य राख्न सकेका छन्, यही नै हामी नेपालीको लागि गौरवको विषय पनि हो ।

बुद्धले दिएका ४ आर्यसत्य र अष्टाङ्ग मार्गमा बताइएका ज्ञानहरूलाई यदि हामीले व्यवहारमा उतार्न सक्यौं भने हामीले विश्वलाई नै नर्कबाट स्वर्ग बनाउन सक्छौं । त्यसैले अहिलेको वैज्ञानिक युगमा आएर पनि बुद्ध दर्शनको निकै सान्दर्भिकता रहेको प्रष्ट हुन्छ ।

अन्लाईनखबर बाट साव्हार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?