बुधबार, फाल्गुन ६, २०८२

सङ्घीयता खारेज गर्न राष्ट्रिय जनमोर्चा प्युठानको माग

जुमान सिंह केसी
प्युठान, असार १४
राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्न माग गरेको छ । सङ्घीयता खारेज र भ्रष्टाचारको विरोधमा जनमोर्चाले सदरमुकाम खलङ्गामा शुक्रबार विरोध सभा गरेको हो ।

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले विश्वभर २८ वटा देशमा मात्र सङ्घीयता रहेको उल्लेख गर्दै नेपालमा सङ्घीयताको औचित्य नभएको दावी गर्नुभयो । “सिद्धान्तः सङ्घीयतालाई हामीले नकारेको होइन,” उहाँले भन्नुभयो, “तर सङ्घीयताका सिद्धान्त परिपालन नगरी जर्वजस्ती आफ्ना स्वार्थ सिद्ध गर्न भित्र्याइएको हो ।”

नेता खत्रीले नेपाल जस्तो सानो मुलुकमा सङ्घीयता खाँचो नै नरहेको बताउनुभयो । नेपालको आर्थिक अवस्था समेत कमजोर रहेकोले पनि सङ्घीयता दिगो रुपमा चल्न नसक्ने उहाँले बताउनुभयो । “देश विकास गर्ने सङ्घीयता जादुको छडी होइन,” उहाँले भन्नुभयो,“सङ्घीयता नभएका मुलुकले पनि ठूलो विकास गरेका छन् ।” पहिले ९० वटा मुलुकमा सङ्घीयता लागु भएकोमा त्यो प्रणाली धान्न नसक्दा झरेर २८ मा आइपुगेको उहाँको भनाई छ ।

नेता खत्रीले नेपालमा अहिले कर्मचारीलाई पाल्नका लागि विदेशबाट ऋण खोज्नुपर्ने अवस्था आइसकेको बताउनुभयो । आर्थिक अवस्था कमजोर हुँदा पछिल्लो समय स्थानीय तहहरुले पाउनुपर्ने बजेट समेत कटौती हुँदै गएको उहाँले बताउनुभयो । उहाँले सङ्घीयताको खारेजी र भ्रष्टाचारको विरोधमा आगामी दिनमा थप कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले सङ्घीयताका कारण देश दिन प्रतिदिन कङ्गाल हुँदै गएको उल्लेख गर्दै देशलाई जोगाउनका लागि सङ्घीयता खारेज गर्नुपर्ने दावी गर्नुभयो ।

उहाँले मुलुकमा भएका ठूला ठूला भ्रष्टाचार काण्डमा सरकार नै संलग्न रहेको आरोप लगाउनुभयो । “त्यस्ता धेरे काण्डहरु लुकेका छन्,”उहाँले भन्नुभयो,“मुलुक बढी भ्रष्टाचार हुने देशको २८ औं स्थानमा पुगेको छ ।” प्रदेश सरकारको खारेजी, भ्रष्टाचारको अन्त्य र देशमा सुशासन कायम गराउन एउटा आन्दोलनको आवश्यकता रहेको उहाँको भनाई छ ।
राष्ट्रिय जनमोर्चा पार्टीकार्यालय बाट जुलुस सहित जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभा गरेको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal