शनिबार, असार ३०, २०८१

राष्ट्रिय धान दिवस प्युठानमा मनाइयो

 

असार १५
प्यूठान । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ प्यूठानमा मनाईएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानको आयोजना, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा प्रभात सक्रिय महिला कृषक समूह प्युठानको समन्वयमा प्युठान नगरपालिका वडा न. ८  गेजवाङमा कार्यक्रम गरिएको छ ।

“धान रोपाई, धान खेतमा माछा एवं हाँस पालन शुभारम्भ” कार्यक्रम संचालन समेत गरिएको थियो । धान रोपिएको खेतमा माछाका भुरा र हाँसका बच्चाहरु छोडिएको थियो ।

दिवस कार्यक्रममा प्युठान जिल्लाका कृषकहरुले गरेका असल कामको श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्दै कृषिको विभिन्न विधाका उत्कृष्ट २२ जना कृषकहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कृषि उत्पादनमा अपेक्षित लाभ प्राप्त हुन नसकेका कारण कृषि क्षेत्रमा लाग्ने कृषकहरुको संख्या घट्दै गईरहेको अवस्थामा कृषिमा हुने क्षतिबाट जोगाउन र व्यवसायिक रुपमा खेतीमा लाग्न विभिन्न विधिहरु उपलव्ध रहेको बताउनुभयो ।

त्यसैगरी सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कुरा जानकारी गराउँदै प्युठानको विकट भौगोलिक अवस्था, सिँचाई सुविधा, मलको व्यवस्था, साधनश्रोत, जनशक्ति नहुनु प्रमुख चुनौतीको रुपमा रहेको र यि चुनौतिहरुलाई चिर्दै व्यवसायिक खेतीमा लाग्न ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका प्रमुख चुमानसिंह गिरीले नेपाल कृषि प्रधान देश भएको, GDP मा कृषि क्षेत्रको योगदान २४% रहेको जसमा धानको योगदान ५/६ % रहेको र कृषि नेपालको सामाजिक, साँस्कृतिक, आर्थिक हिसाबले महत्वपुर्ण क्षेत्र रहेको तर जलवायु परिवर्तनले धान तथा कृषि उत्पादनमा विभिन्न किसिमका समस्या र चुनौतीहरु थपिएका तर उपलव्ध प्रविधिहरुको समुचित प्रयोग गर्दै व्यवसायिक उत्पादनामा जोड दिनुपर्ने बताउनुभयो।

पशुपंक्षि विकास कार्यालयका प्रमुख उमेश चन्द्र श्रेष्ठले कृषि प्रधान देश भएर पनि आयातमा निर्भर हुनु पर्ने विडम्बनापूर्ण अवस्था रहेकोमा यसको प्रतिस्थापन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा जानकारी गराउदै अब असारे धानमा मात्र निर्भर नभई चैते धान उत्पादनमा समेत ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्‍वर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

समूहकी अध्यक्ष बसन्ता के.सी.को अध्यक्षता, जिल्ला समन्वनय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सि.को प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको विशिष्ट आतिथ्यता तथा श्री बर्द बहादुर गण प्युठानका गणपति प्रमुख सेनानी रमेश थापा  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा,  जिल्ला स्थित सुरक्षा निकाय र अन्य कार्यालय संघसंस्थाका लगाएतको सहभागीता रहेको थियो।
प्युठान जिल्लाका विभिन्न स्थानीय तहमा समेत धान दिवस मनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?