
बिमला पौडेल
प्युठान स्वर्गद्धारी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को तेश्रो सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । वडा नम्वर ५ स्थित सामुदायिक भवन सारीमा सम्पन्न भएको सार्वजनिक सुनुवाईले ३ बुँदे प्रतिवद्धता समेत गरेको छ ।
लिफ्ट खानेपानी योजनाहरुको दिगो व्यवस्थापन सहित सञ्चालन गर्ने, किसानहरुले उत्पादन गरेको बस्तुलाई बजारीकरणमा सहयोग गर्ने र संघ, प्रदेश र स्थानीय तहबाट अलपत्र वा ढिलासुस्ती भएका योजनाहरुलाई समयमै सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता जनाइएको हो ।
स्वर्गद्धारी नगरपालिकाको आयोजना तथा मल्लरानी मिडिया प्रा.लि.को सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा उठेका सवाललाई सम्बोधन गर्ने गरि प्रतिवद्धता गरिएको हो । स्वर्गद्धारी नगरपालिकामा पक्की पुल, मोटरबाटो, सिंचाई कुलो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र लक्षित वर्गका सवालमा प्रश्न तथा सवालहरु उठेको थियो । नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै नगरपालिका क्रमशः समस्याहरुलाई समाधान गर्दै जाने बताउनुभयो ।
स्वर्गद्धारी नगरपालिका उप–प्रमुख मिनराज रानाले शिक्षाको नजिता कमजोर देखिएको उल्लेख गर्दै त्यसलाई सुधार गरी गुणस्तरीय बनाउन शिक्षासँग सरोकारवाला बीच तत्काल छलफल गरी वार्षिक योजना बनँएर अघि बढ्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर भण्डारीले कार्यालयबाट भएका त्रुटी तथा कमजोरीलाई आगामी दिनमा सुधार गरेर जनताको सेवालाई सहज र सरल बनाउने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र स्थानीयको सहभागीता थियो । कार्यक्रमको सहजीकरण पत्रकार विजयसिंह भारती र जुमानसिंह केसीले गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण स्वर्गभूमी रेडियोबाट गरिएको थियो ।