
प्यूठान स्वर्गद्धारी सर्पदंश उपचार केन्द्र प्यूठानबाट हालसम्म ४८ जनाले सेवा लिएका छन् । ०८० असोजदेखि संचालनमा आएको उपचार केन्द्रबाट यही असार २८ गतेसम्म ४८ जनाले सेवा लिएका छ्न। उपचार गराउन आएका मध्य एक जनालाई बुटवल रिफर गरिएको र बाँकी सवै जना यहाँबाटै उपचार लिई घर फर्केको उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिनुभयो ।
प्यूठान र रोल्पा बासीले यस उपचार केन्द्रबाट सेवा लिने गरेका छन् । नेपाली सेनाको सहकार्यमा संचालित केन्द्रमा अहेव, अनमी, दुई जना नेपाली सेनाका प्राविधिक र कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी रहेका छन् ।
शर्प उपचार केन्द्रमा दुई जना नेपाली सेनाका प्राविधिकको नियमित ब्यबस्थापन गरिएको श्री बर्द बहादुर गण प्युठानका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो।
जिल्लाका नौ वटै पालिका र नेपाली सेनाको सक्रियतामा उपचार केन्द्र संचालनमा आए पनि यसको दिगो र गुणस्तरीय व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान नसकेको उपचार केन्द्रले जनाएको छ।
कार्यविधि अनुसार स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा जिल्लाका नगर तथा पाउँपालिका प्रमुखहरु, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका विज्ञ डाक्टर, स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहने व्यवस्था छ ।
उपचार केन्द्र संचालन भएदेखि हालसम्म निर्देशक समितिको बैठक नबस्दा उपचार केन्द्र संचालन एवं व्यवस्थापनमा समस्या भएको उपचार केन्द्रले जनाएको छ ।
उता स्वर्गद्वरी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले विविध कारणबश बैठक बस्न नसकीएको भन्दै अब तत्काल निर्देशक समितिको बैठकको लागी पहल गर्ने बताउनुभयो।
नेपाली सेनाको प्राविधिक दुइ जनालाई दारिमचौर सुरक्षा क्याम्पबाट आउन जानको लागि सवारी साधन उपलब्ध गराउने सहमति कार्यान्वयन नभएको, बिरामी पूर्जा, विद्युत महसुल भुक्तानी, कर्मचारीको लागि रासनको व्यवस्थामा समेत समस्या परेको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।
केन्द्रले प्रत्येक विरामीबाट ५ सय रुपैंया सहयोग लिने गरेको छ । उक्त रकम सरसफाई र मसलन्दमा नगदबाटै खर्च हुने गरेको उपचार केन्द्रले जनाएको छ।