
ज्ञामुराम न्यौपाने
प्यूठानको गौमुखी गाउँपालिका स्थित डाँडागाउँलाई अर्खाकाे पहिलो मानव बस्ती मानिन्छ। बाह्रघरे विक र त्यसपछि आएका मगरहरू यहाँका आदिवासीहरु हुन। डाँडागाउँमा एक वर्ष बिराएर साउने सक्रांतीको भोलि पल्ट “लाटाखेल्ने र बोक्सा लखेट्ने” ठूलो मेला लाग्दछ। यसवर्ष हामीलाई अर्खाकाे आदिम समाज र संस्कृति झल्काउने लाटानाँच र बोक्सा लखेट्ने मेला हेर्ने र त्यसवारे बुझ्ने मौका मिल्यो।
ठूलो संख्यामा झाकृहरु जम्मा भएर निष्ठा पूर्वक खाली खुट्टा पूजाआजा गर्दै राँगोको बलि दिएर पुजा सुरुहुँदो रहेछ। दुई दर्जन बढी झाँक्रीहरुले ओखाभाका गर्दै ढेंग्रो बजाउँदै बाखर, छेलामाला, गरुड पङ्ख लगाएकाे विशेष खालको पहिरनमा सेतो कमेरो दलेका पचास भन्दा बढी लाटाहरु खेलाएको रोचक दृश्य देखियो। साँझमा राँगाको सिङ लतार्दै बस्तीको सीमा कटाई हलो गाडेर पुजाआजा गर्दै झाँक्रीको हुलले बोक्सा लखेटिदो रहेछ। यता अर्खाबाट रजबारा तिर लखेटिएको बोक्सालाई रजबाराले फेरी मंसिर महिनामा झाक्रीहरु जम्मा गरेर यता फर्काइदिने चलन रहिआएको छ। बोक्सा लखेट्दा समाजकाे सुरक्षा हुने र बोक्साले अनिष्ठ नगरोस र अकाल मृत्यु नहोस् भन्ने कमाना गरिन्छ।
यस मेला संग जोडिएको एउटा किंवदन्ती गाउँमा विद्यमान छ। डाँडागाउँको स्थापना कालमा ससाना चारजना बच्चाहरु बिस्कुन हेर्ने क्रममा चोयाँले बुनेको ‘कोठा’ (अन्न राख्ने ठुलो भाँडो) भित्र पसे र त्यो डाँडागाउँको भिरबाट पल्टेर सबै बच्चाको सामूहिक मृत्यु भयो। भिरबाट लडेर कोही मान्छे मर्यो भने सोइरे वा सो मार्ने र हाम्रो समाजको पुरानो चलन हाे। सोइरे नमारे त्यस ठाउँमा सोइरेले तानेर फेरि घटना दोहोरीन्छ भन्ने परापूर्व कालदेखि विश्वास गरिन्थ्यो। पुरानो समाजले वोक्सा बोक्सिमा पनि ज्यादै विश्वास गर्दथ्यो। प्रायजसो मृत्यूका घटनाहरुमा वोक्सा वा बोक्सिले खाएको मानिन्थ्यो। चार जना बच्चाको चार जना सामूहिक धामीझाँक्री बसाल्ने र बोक्सा लखेट्दै सो मार्ने गर्दा त्यहाँ लाटानाँचकाे प्रारम्भिक सुरुवात भएको भनिन्छ। तत्कालीन समाजमा वोक्सा बोक्सि लखेट्दा हाहा र होहो गर्दै फोहोर गाली र अश्लीलता प्रकट गर्ने गरिन्थ्यो।
अश्लीलता समेत प्रदर्शन गरिने हुँदा लाटाखेल्ने मेलामा महिलाहरुलाई जान लामो समय सम्म वर्जित थियो। आजकल ठूलो संख्यामा महिलाहरु मेलामा गएपनि अझै पनि मूल थलोमा उनीहरू पुग्दैनन्।
वर्तमान समाजकाे आखाँले हेर्दा लाटानाँचकाे अश्लील पक्षलाई केही नियन्त्रित गर्नु पर्ने खाँचो देखिन्छ। तर यसको सट्टा लाटानाँचमा पशु अंगहरूको प्रदर्शन र केही अनियन्त्रित भद्दा अश्लीलताले मेलाको गहनतालाई नै कमजोर गराएको देखियो ।
लाटानाँचलाइ प्यूठानकै एक महत्वपूर्ण सांस्कृतिक मेलाकाे रुपमा विकास गर्न सम्भब छ। मेला व्यवस्थापन समितिको गठन, गाउँमा रहेका झाकृहरुको सहभागिता वृद्धि, मेलास्थलको सुधार गर्नुको साथै मेलाका आकर्षक मानिएका झाँक्री र लाटाहरुको उचित चाँजोपाँजो मिलाउनु आबस्यक छ। लोप हुँदै गएको झाँक्री संस्कृतिको संरक्षण र मौलिक मेलाको रूपमा लाटानाँचलाइ विकसित गर्न सकिन्छ।