शनिबार, साउन १२, २०८१

धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा प्रवेस

काठमाण्डौ – भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंगरोगन गर्ने काम भैरहेको छ ।

 

निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटाउँदै रंगरोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ ।

२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराको छोपिराखेको ठुटोसँगै नयाँ धरहरा बनिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम तय भएकाले जोडतोडका साथ काम भैरहेको छ ।

नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ ।  नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । २० औं तलामा उक्लिएर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । नयाँ धरहरामा दुईवटा लिफ्ट र एउटा परम्परागत भर्‍याङ रहनेछ । ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फीटको बेस रहनेछ ।

 

नयाँ धरहरामा पनि पहिलेको जस्तै बुट्टा र गोला झ्यालहरु बनाइएको छ । धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टरेण्ट, आधुनिक पार्किङ र उद्यान पनि हुनेछ । तर धरहराको टावर बाहेकका अरु काम भने सुरु हुनै बाँकी छ । मंसिरसम्म सबै काम सकेर धरहरा खुला गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी छ ।उज्यालो नेट्वोर्क ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal