
प्यूठान । रक्तिम सांस्कृतिक अभियानले प्यूठानको जुम्रिमा सांङ्गेतिक प्रस्तुती कार्यक्रम गरेको छ । देशका विभिन्न जिल्लाहरुमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ अभियान संचालन गरेको रक्तिम परिवारले आईतबार प्यूठानमा सांङ्गेतिक प्रस्तुती गरेको हो ।
संघीयताको खारेजी, गणतन्त्रको रक्षा र राज्य व्यवस्थाको सुधार सहितको राजनीतिक सचेतनाका लागि अभियान शुरु गरिएको अभियानका महासचिव हेमराज आश्रमले बताउनुभयो । कार्यक्रममा विभिन्न विधाका प्रगतिशिल गीत तथा नृत्य, लघु गीति नाटक प्रस्तुत गरिएको थियो ।

‘विशेष रक्तिम साँझ २०८३’ नाम दिइएको उक्त कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहद्धारा लिखित ‘युग बोल्छ’ शिर्षकको नाटक प्रस्तुत गरिएको थियो । वर्गिय तथा राजनीतिक उत्पीडनबाट पैदा हुने बलिदानीपूर्ण संघर्षले राज्य सत्ता परिवर्तन गर्ने सन्देश बोकेको नाटकको निर्देशन हेमराज आश्रमले गर्नुभएकाे हाे ।

भ्रष्टाचार तथा व्यथितिका विरुद्धको काठमाण्डौंबाट शुरु गरिएको साङ्गेतिक अभियान स्याङ्जा, पाल्पा, अर्घाखाँची, गुल्मी र रोल्पा जिल्लामा सम्पन्न गरिएको अभियानका अध्यक्ष गिरीराज बुढाले बताउँनुभयो । परिवर्तन र खबरदारीका लागि सांस्कृतिक अभियान नियमित सञ्चालन गर्ने उहाँकोे भनाई छ ।
सांङ्गेतिक कार्यक्रमको कोरियोग्राफि रक्तिम सांस्कृतिक अभियानका सचित्र केसी, मीना बुढाथोकी, हरि सर्तुङ्गी, विजय राना, कमला क्षेत्री लगायतले गर्नुभएको हो ।











