शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा पार्टी ठिक लाग्यो :दिपक मनाङे

पोखरा : अहिलेकै सरकार कायम रहने हो या विकल्पमा नयाँ सरकार बन्ने हो? गण्डकी सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।

 

 

सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो हुने गुरुङ सरकारको पक्ष र विपक्षमा आउने मतबारे अनेक टिकाटिप्पणी भई रहेको बेलामा मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङले भने राष्ट्रिय जनमोर्चा (राजमो) ले जसको पक्षमा मतदान गर्छ आफूले पनि त्यतै मत दिने बताएका छन्।

‘जनमोर्चाले जता हाल्यो त्यतै हाल्ने भनेर बसेछु के म। जनमोर्चा अलि पक्का लाग्यो के मलाई,’ थाहाखबरसँगको टेलिफोनवार्तामा उनले भने, ‘यिनीहरुको पोलिटिक्स पनि मलाई ठिक लाग्यो। सरकारमा पनि नजाने, समर्थन गर्ने मन्त्रीसन्त्री मागेको छैन, भनेपछि अलि अनेस्ट देखें के मैले, इमानदार देखें। यिनीहरुले जे गर्छ त्यही गर्नुपर्ला अब।’

जनमोर्चा निस्वार्थ रुपमा लागि परेको उनको टिप्पणी छ। ठूला दलको तुलनामा जनमोर्चाले राम्रो काम गरेको उनले बताए।

चालु विशेष अधिवेशनका लागि सांसद मनाङले सोमबार मात्रै छुट्टै स्थान चाहिने माग गरेका छन्। यस विषयमा प्रश्न गर्दा उनले आफू स्वतन्त्र सांसद भएको हुनाले छुट्टै बस्न चाहेको बताए। ‘इन्डिपेन्डेन्ट हो। यिनीहरुको कारणले समस्या नहोस् भनेर के,’ उनले भने।

प्रदेश सभा सचिवालयमा उनले छुट्टै सिटको व्यवस्था गर्न माग गर्दै पत्र पनि बुझाएका छन्। ‘स्वतन्त्र सिटको व्यवस्था गर्दिनुस्। म स्वतन्त्र सांसद हो। म स्वतन्त्र रुपमा बस्छु भन्ने किसिमको पत्र बुझाउनुभएको छ,’ प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले भने, ‘उहाँले पत्र बुझाउनुभएको थियो। मैले तोक लगाएर पठाइसकें।’ पौने पाँच बजे सांसद मनाङेको पत्र प्राप्त भएको उनले सुनाए।

यता लिखित सहमतिबिना सरकारमा नजाने अडान लिएको जसपालाई धोका नहुने माओवादी संसदीय दलका नेता दीपक कोइरालाले बताएका छन्। जसपाले दुई वटा मन्त्रालयको माग राखेर लिखित सम्झौता गर्नुपर्ने अडान राखेको सुन्नमा आएको छ।

‘पहिला काम सकिन दिऊँ। सकिएपछि दुई वटा, तीन वटा नै दिउँला नि,’ सांसद कोइरालाले भने। सरकारमा सहभागी हुने नहुने विषयमा लिखित सम्झौता हुनुपर्ने माग राखे पनि जसपा अविश्वासको प्रस्तावको पक्षमै रहेको उनले बताए।

जसपा संसदीय दलका नेता हरिशरण आचार्यले पनि सरकारमा सहभागी नभए पनि गुरुङ सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा रहेको बताए।

६० सांसद रहेको गण्डकीमा सत्ता पक्षका २७, विपक्षी कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ र स्वतन्त्र एक जना सांसद छन्।

विशेष अधिवेशनको अर्को बैठक मंगलबार १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। मंगलबार सांसदहरुले प्रस्तावमाथि बोलेपछि १५ वैशाखमा मतदान हुनेछ।थाहा खबर।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal