शनिबार, बैशाख ८, २०८१

गण्डकीमा सत्ताधारिहरुबाट धम्की आउन थाल्यो , मनोज भट्ट :राष्ट्रिय जनमोर्चा महासचिव

लक्ष्मी चौधरी, 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पास हुने अवस्था आएपछि सत्ताधारी दलका मानिसहरुले धम्की दिन थालेको बताउनुभएको छ । गण्डकी प्रकरणको सत्यतथ्य बुझ्न पोखरा पुगेका नेता भट्टले सत्तारुढ दलका कार्यकर्ताहरुले सार्वजनिक रुपमै धम्की दिएको बताउनुभयो ।

सांसद खिमविक्रम शाहीले अस्पतालबाटै पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको वक्तव्य सार्वजनिक गरेपछि मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव पास हुने निश्चित भएको र सत्ताधारी दलको सत्ता जोगाउन सबै अस्त्र सकिएपछि धम्कीको सहारा लिन थालेको भट्टले बताउनुभयो।

पोखरा रहेका महासचिव भट्टले विपक्षी दलका नेताहरुसँग भेटघाट तीब्र बनाउनुभएको छ । शुक्रबार र शनिबार उहाँले नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरुसँग भेट गर्नुभएको थियो । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, कांग्रेस नेता तथा गण्डकीमा मुख्यमन्त्रीका उम्मेदवार कृष्णबहादुर नेपाली पोखरेललगायत नेताहरुसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई साथ दिने पक्षलाई परास्त गर्नेबारे छलफल भएको थियो ।

यस्तै, महासचिव भट्टले गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीसँग पनि भेटघाट गर्नुभएको छ । भेटका क्रममा उहाँले गण्डकी प्रदेश सभा सञ्चालनबारे चासो राख्नुभएको थियो ।

नेता भट्टले उपचाररत सांसद खिमविक्रम शाहीसँग पनि भेट गर्नुभएको छ । उहाँले शाहीको स्वास्थ्यमा सुधार आइरहेको बताउनुभयो । गण्डकी प्रकरणको सत्यतथ्यबारे युगदर्शनको जिज्ञासामा भट्टले त्यसबारे आफू अहिले सबै पक्षसँग बुझ्ने क्रममै रहेकाले सबै विवरणहरु आइसकेपछि यथार्थ कुरा पार्टीमार्फत बाहिर ल्याउने जानकारी दिनुभयो ।

बुधबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु हुनुअघि सांसद शाही सम्पर्कविहीन हुनुभएको थियो । पछि उहाँ चरक मेमोरियल अस्पतालको आईसीयूमा उपचाररत रहेको सार्वजनिक भएको थियो ।

सो प्रकरणका कारण मुख्यमन्त्री गुरुङविरुद्ध अविस्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम स्थगित हुनुका साथै प्रदेश सभा बैठकसमेत अनिश्चितकालका लागि स्थगित भएको छ । सोही विषयको सत्यतथ्य जाँच गर्न महासचिव भट्ट पोखरा जानुभएको हो ।युगदर्सन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?