शनिबार, साउन १२, २०८१

झिमरुक गाउँपालिकाले विपन्न किसानलाई उन्नत जातको राँगा बांड्यो

नविन क्षेत्री, झिमरुक

प्यूठानको झिमरुक गाउँपालिकाले विपन्न कृषक परिवारलाई उन्नत जातको राँगा वितरण गरेको छ । गरीबको आर्थिक अवस्था सुधार गर्न तथा पालिकालाई दुधमा आत्मनिर्भर बनाउन भैँसी पालनमा थप सहयोग होस् भनी उन्नत जातका राँगा वितरण गरिएको पालिकाले जनाएको छ। पालिकाले किसानलाई उन्नत जातको राँगा निशुल्क अनुदानमा वितरण गरेको हो ।

पालिकाले किसानलाई राँगा वितरण गरेपछि भैँसी पालक किसान खुशी भएका छन् । झिमरुक–२ का किसान जित बहादुर महतरा आफू भैँसीमै आफू आत्मनिर्भर भएकाले उन्नत जातको राँगो पाएपछि आमदानी बढ्ने बताउनुहुन्छ ।

‘यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ’ उहाँले भन्नुभयो ।

पालिकाले महतराजस्तै आठ जना किसानलाई राँगा वितरण गरेको हो ।

झिमरूक–३ का घमान सिंह केसी पनि गाउँपालिकाबाट उन्नत जातको राँगा पाएपछि खुशी हुनुभएको छ । उहाँ अनुदानमा पाएको राँगाले आफूले गरिरहेको भैँसीपालन कार्यमा टेवा पुग्ने बताउनुहुन्छ ।

‘हामीले उन्नत जातको राँगा किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको राँगो भएमा स्थानीय जातको लोकल भैँसीले पनि उन्नत पाडापाडी जन्माउन सक्छन्’, केसीले भन्नुभयो, ‘यसले पाडापाडी उन्नत खालको हुनुका साथै नश्ल सुधारमा सहयोग पुग्छ । उन्नत जातका भैँसी धेरै भएमा दुध अभाव पूर्ति गर्न सहयोग पुग्छ ।’

पालिका अध्यक्ष तिलक जिसीले राँगा वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गर्नुभयो ।

‘तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा दुध उत्पादनको अवस्थालाई वृद्धि गर्न राँगा वितरण गरेका हौँ’, अध्यक्ष जिसी भन्नुभयो, ‘किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ ।’

लुम्बिनी प्रदेश सरकारबाट विशेष अनुदानमा प्राप्त मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिका भित्रका विपन्न वर्गका कृषकहरुलाई वितरण गरिएको पशुसेवा शाखाका प्रमुख प्रेम जिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै उन्नत जातको राँगा वितरण गरेको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal