शुक्रबार, चैत्र १६, २०८०

प्रतिगमनतर्फ लैजाने ओलीको प्रयास असफल : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सबैको एकता र प्रयत्नद्वारा देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको कदमलाई असफल पार्न सम्भव भएको बताउनुभएको छ ।

वक्तव्यमा ओलीले पहिले पनि संसदको पुनर्स्थापनालाई निष्फल पार्न प्रयत्न गरेका थिए भन्दै पुनः फैसला विरुद्ध षडयन्त्र गर्न सक्ने सम्भावनातर्फ मसालले सचेत गराएको छ ।

यस्तै, नेकपा (एमाले) कार्यदलले पार्टी एकताका लागि भन्दै तयार पारेका बुँदा निरर्थक रहेको पनि मसालको ठहर छ। सो सम्झौताप्रति असहमति प्रकट गरेर वरिष्ठ नेता माधव नेपालले सकारात्मक काम गरेको मसालले जनाएको छ ।

यस्तो छ वक्तव्य–
“सर्वोच्च अदालतले संसदको पुनस्र्थापनाको जुन निर्णय गरेको छ, त्यसलाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । त्यो फैसलाको लागि प्रधानन्यायधिश र संवैधानिक इजलासका सबै न्यायधिशहरुलाई धन्यवाद दिन चाहन्छौँ । यसका साथै संसद विघटनका विरुद्ध वहस गर्ने सबै वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूलाई धन्यवाद दिन चाहन्छौँ । संसदको विघटनको विरुद्ध देशव्यापी रुपमा आवाज उठाउने सबै राजनीतिक दल, संघसंस्था, न्यायप्रेमी जनता, वुद्धिजीवि पत्रकार आदि सबैलाई हामीले धन्यवाद दिन चाहन्छौँ । सबैको त्यस प्रकारको एकता र प्रयत्नद्वारा नै ओलीको देशलाई प्रतिगमनतर्फ लैजाने कदमलाई असफल पार्नु सम्भव भएको हो ।

नेकपा (एमाले)को पार्टी एकताको लागि कार्यदल बनाएर जुन प्रयत्न गरिएको थियो, त्यसलाई हामीले सकारात्मक रुपमा नै लिएका थियौँ । हामीले एमाले मात्र होइन, पूर्व नेकपाका विभाजित सबै घटकहरुका बीचमा पार्टी एकता वा संयुक्त मोर्चा बन्नुपर्छ भन्ने धारणा राख्दै आएका थियौँ र अहिले पनि त्यस प्रकारको आवश्यकतामा जोड दिन्छौँ । तर त्यस प्रकारको एकताको लागि ओलीको बर्हिगमन निर्णयात्मक शर्त हुनुपर्दछ । खालि वामपन्थी एकताको लागि मात्र होइन, सम्पूर्ण देशका लागि नै यो आजको राष्ट्रिय आवश्यकता भएको छ । तर पक्षलाई ध्यान नदिइकन एमालेको कार्यदलले सहमतिका जुन बुँदाहरु तयार पार्यो, ती निरर्थक थिए । त्यस प्रकारको सहमतिप्रति असहमति प्रकट गरेर कमरेड माधव नेपालले जुन प्रकारको अडान लिनुभयो, त्यसका लागि हामीले उहाँलाई धन्यवाद दिन चाहन्छौँ ।

अहिले सर्वोच्चले संसदको पुनस्र्थापना गरेको छ । तर ओलीले पहिले पनि संसदको पुनस्र्थापनालाई निष्फल पार्नका लािग प्रयत्न गरेका थिए । अहिले पनि उनले त्यस प्रकारको प्रयत्न गर्ने सम्भावनलाई अस्वीकार गर्न सकिन्न । ओली पक्षका मानिसहरुले सर्वोच्चको फैसलाको विरुद्ध आवाज उठाउन थालेको पाइएको छ । त्यसकारण ओली पक्षले सर्वोच्चको फैसलालाई असफल वा निष्फल पार्न सुनियोजित प्रकारले षडयन्त्र गर्ने कुरा प्रष्ट छ । त्यसैले त्यस प्रकारका सबै प्रयत्नहरुका विरुद्ध व्यापक संघर्ष गर्नुपर्ने र त्यसका लागि व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा नेकपा (मसाल) ले विशेष जोड दिन्छ । त्यो दिशामा ५ दलको गठवन्धनले जुन भूमिका खेल्दै आएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिन्छौँ र स्वागत गर्दछौँ । तर त्यो दिशामा संघर्ष र एकतालाई अरु व्यापक बनाउँदै लैजानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ, अनि मात्र हामीले ओलीको प्रतिगमनलाई पराजित गर्न सक्दछौँ र गर्नु पनि पर्दछ ।”
२०७८ असार २८ गते
मोहनविक्रम सिंह
महामन्त्री

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal