शनिबार, साउन १२, २०८१

देउवालाई ७ चोटि प्रधानमन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको बूढानीलकण्ठमा खोजी भयो

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दियो । सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यकर्ताहरु भेला हुन थालिसकेका थिए ।देउवा निवासमा नेता–कार्यकर्ताहरु पुष्पगुच्छा र फूलमालासहित आएका थिए । सबैले देउवालाई बधाई दिए । बधाई थाप्न भ्याई नभ्याई भयो ।

विशेषगरी सुदूरपश्चिमेली कार्यकर्ताहरु र देउवासँग निकट मानिने केन्द्रीय नेताहरुको उपस्थिति बाक्लिँदै गयो । देउवाले उनीहरुसँग आन्तरिक छलफल गरे ।
यसै क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिषसँग भेट्न चाहेको बताए । शर्माले भने, ‘सभापतिज्यू तपाईंको ज्योतिषसँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’

शर्माले यति भनेपछि उपसभापति विमलेन्द्र निधि बोले, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनुपर्ने भयो ।’

विमलेन्द्र र विश्व प्रकाशको कुरा सुनिसकेपछि सबै नेताहरु हाँसे । त्यहाँ उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनिलबहादुर थापा, पूर्वसहमहामन्त्री रामशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु डिला संग्रौला, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा र उमाकान्त चौधरीलगायत उपस्थित थिए ।

गत आम चुनावका क्रममा ०७४ कात्तिक ३० गते देउवाले आफूलाई ज्योतिष ‘सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको’ भनेका थिए । नेपालीहरु ज्योतिषीप्रति विश्वास गर्ने भएकाले सो कुरा भएको देउवाको भनाइ थियो ।

त्यसो त बूढानीलकण्ठमा ज्योतिषको चर्चा हिजो मात्र भने भएको होइन । यसअघि गत चैतमा पनि पत्रकार महासंघको चुनावका सन्दर्भमा छलफल हुँदा पनि देउवाका ज्योतिषको चर्चा भएको थियो ।

त्यो दिन नेता कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालले ‘ज्योतिषले तपाईंलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताए । त्यो हुँदा त हाम्रो त पालै पो नआउने देखियो’ भन्दै ठट्टा गरेका थिए  ।

जवाफमा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चुनावताका ०७४ कात्तिक २९ गते काँग्रेसबाट आफूलाई अन्तिम प्रधानमन्त्री हुने दाबी गरेपछि प्रतिउत्तरमा ज्योतिषको प्रसंग निकालेको बताएका थिए ।

पछिल्लो समय गत पुसमा ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देउवा प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको हो । सर्वोच्चको फैसलापछि देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बन्न पुगेका छन् ।

यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चार/चार पटक देउवा प्रधानमन्त्री बनेका थिए ।

यसैबीच, केही समयअघि देउवा निवासमा पुगेका ज्योतिष सुरेन्द्रचन्द्र रिजालले असारअघि देउवाका लागि सत्ता योग राम्रो नभएको बताएका थिए । स्रोत रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal