
चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । यो त्यही होटल हो, जहाँ आज दिउँसो गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएको थियो ।
यस घटना र उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि प्रशासनले सो कारबाही गरेको हो ।
अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पनि भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
होटलको उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ को व्यवस्था विपरीत पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासकीय अधिकृत मदन लामा जानकारी दिनुभयो ।











