शनिबार, साउन १२, २०८१

भारतीय एसएसबीले तुइन काटिदिँदा एक नेपाली नागरिक नदीमा बेपत्ता

दार्चुला । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले शुक्रबार तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् ।

सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।

‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ धामीले भने, ‘पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।’

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal